नवराज कुँवर ।
बिहान ६ बजेको समाचार पढ्नको लागि म ५ बजेभित्र कार्यालय पुगिसक्नुपथ्र्यो । अन् एयर भएकाले समयको निकै महत्व थियो । पौष महिनाको समयमा जाडोमा ५ बजे पुरै अँध्यारो हुन्थ्यो । चरम विद्युत संकट र भारतीय नाकाबन्दिका कारण कालोबजारीमा किनेर तेल हाल्नुपर्ने भएकाले जेनेरेटरबाट प्रसारित विद्युत फारु गर्नुपर्ने वाध्यता थियो । त्यसैले अफिसको गेट र बाहिरपट्टि बत्ति पनि बालिदैन थियो । म अफिस पुग्दा ढोकाको छेउमा सँधै एउटा कालो कुकुर बसिरहेको हुन्थ्यो । कैले कैले अँध्यारोले गर्दा त्यसलाई कुल्चिन पुग्थेँ । त्यतिबेला ऊ कराउँथ्यो । मैले जागिर सुरु गर्दा देखिनै त्यो कुकुरलाई मैले त्यही ढोकामा देखेको थिएँ । कहिले काँही सुतिरहेको देख्थेँ । निदाउँथ्यो कि निदाउँथेन तर ऊ घुम्रिएको पुच्छर ओछ्याई, चार पाउ दोबरेर नतमस्तक बसेको देख्थेँ । पहिलो दिन त उसले ममाथी धावा बोल्यो । झोला भिरेको, हेल्मेट लगाएर कार्यालय प्रवेश गर्न खोजिरहेको ममाथी भुक्यो । निकै खाइलाग्दो थियो । अरु कुकुरजस्तो फोहोरी देखिदैन थियो । चिल्ला र सफा देखिने रौँ, कसैले नुहाइदिन्थ्यो कि झैँ लाग्थ्यो । कुकुरमा हुनुपर्ने आनुहारिक विशेषता पनि उसमा थियो । मान्छेमात्रै राम्रो हुन्छ भन्ने मान्यताबाट म अलि बाहिर छु । किनकी सबैको आ–आफ्नो विशेषता हुन्छ । हुन त यो संसारमा कुकुरहरुको साम्राज्य हुन्थ्यो भने उनीहरुमा पनि राम्रो र नराम्रोको भेद हुन्थ्यो होला । उनीहरुले पनि मान्छेहरुलाई राम्रो र नराम्रोमा तुलना गर्न जरुरी ठान्ने थिएनन् होला ।
पहिला–पहिला भुकेपनि पछि उसले मलाई चिन्न थाल्यो । भनिन्छ, कुकुरको मष्तिस्क एकदमै तिक्ष्ण हुन्छ । उसले मान्छेसंग सम्बन्ध विस्तार गर्छ । बिहान म गेटमा आइपुग्दा कार्यालयको पालेभन्दा छिटो ऊ गेटमा आइसक्थ्यो । बन्द गेटको फारिएको प्वालबाट मलाई हेरेर पुच्छर हल्लाउँथ्यो । विवश देखिन्थ्यो, यदि उसले त्यो गेटको ताला खोल्न सक्दो हो त पालेभन्दा पहिले नै उसले मेरो स्वागत गर्ने थियो । तर उसको पछि–पछि आइरहेका पाले मनबहादुरले उसको पिठ्यूँमा लात्ती बजार्थे । तर पनि ऊ त्यहाँबाट भागेर पर जाँदैनथ्यो । ऊ मनबहादुरलाई बाटो छाडेर गेटकै छेऊमा उभिन्थ्यो । मलाई मनबहादुुरले कुकुरमाथी गरेको त्यो रबैया बिलकुल ठीक लाग्दैन थियो । तर म नयाँ थिएँ । कार्यालयका हरेक कर्मचारीसंग सुमधुर सम्बन्ध विकास गर्न ममाथी प्रारम्भिक चुनौति थियो । यद्यपी म मनबहादुरको त्यस्तो व्यवहारमाथी सांकेतिक विरोध जनाउँथे । गेटबाट भित्र छिर्नेवित्तिकै कालेलाई सुम्सुम्याउथेँ । ती मनबहादुरले के बुझ्थे, बुझ्नेभए अर्को दिनपनि कालेमाथी लात्ति प्रहार गर्दैन थिए होलान् । त्यत्रा पाका व्यक्ति थिए मनबहादुर, आजभोली गर्दै थलिएपछि उनको हालत यही कालेको जस्तो हुन्छ, अरुकै आसमा बाँच्नुपर्ने । त्यतिबेला उनीमाथी कसैले लात प्रहार गर्यो भने उनलाई कस्तो होला । हो, मनबहादुर त रोलान्, कराउलान् र आँशु झार्लान् । तर त्यो काले रोएर अरुलाई सुनाउन सक्छ ? मनको वेदना आँशुबाट कसरी अभिव्यक्त गर्न सक्छ ? तर यो कुरा मनबहादुर दाईले कहिले बुझेनन् । मेरो प्रवेशमा स्वागत र प्रस्थानमा विदाई गर्दै कार्यालयमा बस्ने त्यो कालेप्रति मभित्र विस्तारै सहानुभूतिहरु थुप्रिए । उसले पनि मसंगको सम्बन्ध अब विकास भईसकेको सोच्दो हो । त्यसैले म चिया पिउन जाँदा पछि–पछि जान्थ्यो । म चिया पिउँदा उसलाई कहिले विस्कुट र कहिले पाउरोटि किन्दिन्थे । एकदिन सहकर्मी विशालले ‘कुकुरलाई यसरी विस्कुट किनेर साध्य हुन्छ ?’ भनेर प्रश्न गरे । मैले उनलाई प्रतिप्रश्न गरेँ, ‘तपाई भन्न सक्नुहुन्छ, मान्छे मरेपछि कुनै कुरा साध्य तुल्याउन सक्छ ?’ उनी अवाक भए । साध्य भईन्जेल गर्ने हो । सबैभन्दा ठूलो कुरा मान्छेको हृदय हो यसले चितायो भने इश्वरले पनि साथ दिन्छन् ।
म जनावरहरुप्रति निकै सहानुभुति राख्छु । गाउँमा धुर्वे काकाले गोरु कुटेको देख्दा म घरबाट हेरेर रुन्थेँ । असारको हिलोमा भोकभोकै हलो तानिरहेका ती गोरु, १२ बजेको घाममा समेत धर पाउँदैन थिए । उनीहरु ज्यादै गल्थे । भोक र थकानले मुखबाट ¥याल काड्थे । जुवाले रगेटिएर काँध पुरै कुष्ठरोग लागेको छालाजस्तै अरहरिएका हुन्थे । त्यसमाथी धु्रवे काकाले पिठ्युमा दुवाली बर्साउँथे । विवश थिए ती गोरु । गलेर सहनै नसक्ने अवस्था आएपछि एउटा गोरु बस्थ्यो । तर ‘गोरु अल्छि भयो, सुतुवा भयो’ भनेर धुर्वे काकाले झन् धेरै पिट्थे । अर्को दुब्लो चाहिँ गोरु भार तान्न मुस्किल परेपछि बल गरेर हिँड्ने प्रयास गथ्र्यो तर उसको बल नै पुग्दैन थियो । त्यो हिलो माटोको लुडिसहितको हलो तानेर छिटो हिँड्न उसलाई हम्मेहम्मे थियो । तर हिँड्नैपथ्र्यो । ‘म सक्दिन’ भन्न सक्दैन थियो । सांकेतिक भाषा धुर्वे काकाबाट सम्बोधन हुनेवाला पनि थिएन । र विस्तारै हिँड्थ्यो । तर ‘गोरु अल्छि भयो’ भन्दै धुर्वे काकाले त्यसलाई झन् पिट्थे । त्यो देखेर मलाई सार्है नरमाइलो लाग्थ्यो । न्यायको कानुन छ भन्ने कुरा बकवास लाग्थ्यो । यदि न्यायको कानुन छ भने जनावरको पक्षमा किन लागु हुँदैन त्यो कानुन ? के जनावरलाई दुख्दैन ? उनीहरु श्वास फेर्ने प्राणी हैनन् ? मनमनमा सोच्थेँ । तर सानो थिएँ । मैले के भन्न सकुँला । म ती गोरुजस्तै निरिह थिएँ । मुकदर्शक बन्नु र ती गोरुको पीडामा सहानुभुति पोख्दै आफैले पिडा बहन गर्नुको अर्को विकल्प मसित पनि थिएन । एकदिन धुर्वे काकाको छोरा सुशिलले जोत्दा जोत्दै एउटा गोरुको खुट्टामा फालीले रोप्यो । खुनले हिलोमाटो रातै देखिन्थ्यो । धुर्वे काका आएर छोरालाई हप्काएजस्तो गरेर घर पठाए । त्यसपछि त्यही घाइते गोरुलाई पिट्दै गह्रा जोति सकाए । साँझदेखि गोरु उग्राउन छाड्यो । त्यतिबेला घाउमा उपचार गरेजस्तो गरे तर भोलिपल्ट पनि जोताउन छाडेनन् । एक हप्तापछि त्यो गोरुले धुर्वे काकाको खेतबारीबाट विदा लियो । संसार त उसले के देख्नु र, त्यही खेत र गोठको परिवेशबाट उसले सँधैका लागि विदा लियो । खुट्टामा किरा परेकाले पछि उपचार गरेपनि त्यसले कुनै असर गरेन । गोरुले घाँस नै खान छाडेको थियो । एक रात ऊ गोठमा संधै संधैका लागि सुत्यो । तर धुर्वे काका घाटा लाग्यो भनेर दुखि भए, अर्को गोरु किन्न पैसो फेरि जुटाउनुपर्ने कुरा सम्झिएर दुखि भए । ४ महिनापछि आएको गोरु तिहारमा उनले अर्को बाँचेको गोरुलाई फूलमालाले पुजा गरे । तर प्राणीप्रतिको सहानुभुतिमा भने एक इन्च पनि फेरबदल भएनन् । संधै निर्दयी नै रहे ।
कालेलाई बाहीरका मान्छेले कुकुर भनेर हेप्थे । तर म उसमा हामीजस्तै संवेदनशीलता देख्थेँ । हामीभन्दा इमान्दार देख्थेँ । उ कोहीप्रति द्धेश, उत्पट र रिस राख्दैन थियो । सिर्फ पहरेदारको आफ्नो भूमिकाबाट पनि पछि हट्दैन थियो ।
एकदिन म कार्यालयबाट बाहिरिने क्रममा काले मेरो पछिपछि आयो । हुन त गेटसम्म सँधै आउँथ्यो । तर आज मेरो मोटर साईकललाई पछ्याउँदै दगुरिरहेको थियो । मैले गेटबाट अलि पर पुगेपछि फर्कि काले भनेँ, मैले बोल्ने सामान्य भाषा पनि उसले बुझ्न थालिसकेको थियो । ऊ फर्कियो तर फेरि म अघि बढेलगत्तै पछ्याएर आयो । सायद उसले पनि मलाई निकै माया गथ्र्यो । तर त्यो बेला भने म नरोकिइ अगाडी बढेँ । लुकिङग्लासबाट म पछाडी हेर्दै थिएँ । उ मेरो मोटर साइकल पछिपछि मुख्य सडकमा दगुरिरहेको थियो । मलाई बडो आश्चर्य लाग्यो । बाटोमा केही मान्छेहरु कालेको त्यो चर्तिकला देखेर छक्क परेका हुँदाहुन् । उनीहरु आँखा ठूला पार्दै मेरो मोटर साईकल र त्यसलाई पछ्याइरहेको कालेलाई हेर्दै थिए । म चप्पल कारखाना पुग्नै लागेको थिएँ । मैले कालेलाई दौडाइराख्नु उचित ठानिन र रोकेर केही खानेकुरा किन्देर फर्काउने विचार गरेँ । मैले चप्पल कारखाना चोकभन्दा २ सय मिटर अगाडी नै मोटर साईकल रोकेँ र कालेलाई पर्खिएँ । ऊ आइपुग्दा नपुग्दा चप्पल कारखाना चोकबाट एउटा ठूलो आवाज आयो । मैले हत्तपत्त त्यता फर्केर हेरेँ । त्यतिबेलासम्म काले आएर मेरो नजिक उभियो र जिब्रो निकालेर स्वाँ स्वाँ गर्न थाल्यो । मेरो आँखा चप्पल कारखाना चोकसम्म पुगिसक्दा एकजना पुरुष टाउकोबिहिन अवस्थामा सडकमा भट्भटाईरहेका थिए भने एउटी महिला सडकमा छट्पटाउँदै लडिरहेकी थिइन् । मेरो सारा शरिर गलेर लत्रक्क भए । कस्तो भयावय देखियो । मैले मोटरसाईकल अलि साइड लगाएँ । त्यो हताहती हेर्न मान्छेहरु पर परबाट दुगिरिरहेका थिए । त्यसलाई उठाएर एम्बुलेन्समा हाल्न भन्दा पनि ‘मान्छे मरेको हेर्ने’ मान्छेहरुको घुइँचो लागेको थियो । पाइला लडबडाउँदै भएपनि म त्यहाँसम्म पुगेँ । तर त्यतिबेलासम्म दुवैजनाको जीवन समाप्त भईसकेको थियो । एउटा अनियन्त्रित भएर आएको पानी बोकेको ट्रकको स्टेरिङ फेल भएर मलाई नै केही सेकेन्ड अगाडी उछिनेर चप्पल कारखाना चोक पुगेको मोटरसाईकलका ती जोडीको मृत्यु देख्न पुगेँ । मैले झट्ट आफुलाई सम्झेँ । यदि मैले आज मोटरसाइकल रोकेर यो कालेलाई नकुरेको हुन्थे त आज यो घट्ना मैमाथी घट्थ्यो । मेरो यो शंका मैले मोटरसाईकल रोकेको समय र दूरीले बलियो पारेको थियो । त्यो घट्ना स्थलमा काले पनि गयो । यसले केही कुरा सुंघ्दै थियो, तर ट्राफीक प्रहरी आएर उसलाई त्यहाँबाट धपाए । त्यसपछि काले कार्यालयपट्टिनै फर्कियो । मलाई यो जुनिभरि तिर्न नसक्ने गरि गुन लगाएर फर्कियो काले ।
त्यो दिन मेरा आँखा र मस्तिष्कभरि त्यही एउटा भयावह घट्नाले डेरा जमाइरह्यो । मलाई रातभर निन्द्रा लागेन । भोलिपल्ट बिहान पनि म अफिस गएँ । म जाँदा आज गेटमा काले आएन । मैले सोचे कतै सुतेको होला । गेटबाट भित्र ढोकामा पनि काले थिएन । त्यही पनि मैले सोचे कतै बाहिर गएको होला अहिले आइहाल्छ । मैले ६, ८ र ९ बजेको समाचार पढिसक्दा पनि कालेलाई नदेखेपछि मनबहादुर दाईलाई सोधेँ । उनले पनि अनविज्ञता प्रकट गरे । मैले अफिसका अरु साथीहरुलाई पनि सोधेँ । सबैले थाहा नभएको जनाए । मलाई दिक्क लाग्यो । कालेको अभाव महशुस भयो । एउटा मिल्ने साथीजस्तै थियो काले । मैले काम अरु नै गरेपनि आँखाले भने काले आउने बाटो हेरिरहे । त्यो दिन काले आएन । १२ बजे म घर फर्किन लाग्दासम्म मैले कालेको बाटो हेरेँ । नआएपछि म निराश भएर घरतिर लागेँ । मुल बाटोमा निस्कनेवित्तिकै महानगरपालिकाको गाडीले सडकको देव्रेपटिबाट केही उठाईरहेको देखेँ । मैले मोटरसाइकल त्यतैपटि मोडेँ । मेरा आँखाहरु हेरेको हे¥यै भए । आँखाले वेदनाका आँशुहरु घोप्ट्याए । मलाई बचाएर आएको काले आफै कसरी मृत्युको मुखमा पुग्यो । मैले नजिकैको बैकका पालेदाईलाई सोधेँ । उनले सबै बेलिविस्तार लगाए । मबाट छुट्टिएर काले दाहिनेपट्टिको सडकपेटिबाट आउँदै थियो । तर उसकै अगाडी भएका तीनजना मानिसहरु जेब्रा क्रशिङ नभएको ठाउँबाट बाटो काट्न थाले । त्यतिबेलै उही दिशाबाट आईरहेको बसले ती मान्छेलाई बचाउन खोज्दा बसका चक्का आफ्नै साइडमा हिँडिरहेको कालेमाथी पुग्यो र नियतिले उसको जीवन लुट्यो । कालेको आत्माले त सोच्दो हो, ‘असभ्य र निर्दयीहरुको भिँडबाट म मुक्त भएँ ।’ हुनपनि बाँचुन्जेल कालेले सँधै अपमान, दुख र भोक थुप्रै खेप्यो । मेरा आँखाबाट घोप्टिरहेका आँशुका धारा बाढीमा परिणत भईसकेका थिए । हत्तपत्त हेल्मेट लगाएँ । शरिर निचोरको कागति जस्तो लत्रकै भएको थियो । आत्मा आफ्नै शरिर गुमाएर यत्रतत्र भौतारिएको हालमा रन्थनिएको थियो । म आँशु छोप्दै पिँडा पोको पारेर त्यहाँबाट बाटो लागेँ ।
Comments are closed.
कालेको आत्माले त सोच्दो हो, ‘असभ्य र निर्दयीहरुको भिँडबाट म मुक्त भएँ ।’ – See more at: http://rastriyakhabar.com/?p=48956#sthash.Z2fXR01x.F77foEfP.dpuf
धेरै मार्मिक कथा सुन्न पाइयो धन्यवाद
sachai yatharthaparak xa.hami sadhai aafnolagi sochxau aafumatrai budhimani thanxau ani tara tyo kale ani niriha halgoru jasta pranilai swartha paripurtiko lagi prayog garxau khai bibasta bhanau ya abujhpan….