अवसरविहीन बालबालिकाको भविष्य बदल्दै ‘सम्सारा घर’, उद्घाटनको तयारी अन्तिम चरणमा राजेन्द्र श्रेष्ठको पहलमा पर्वतमा १० करोडको सामाजिक अभियान : आवास, शिक्षा, स्वास्थ्यसँगै कृषि र पशुपालनबाट आत्मनिर्भर बनाउने योजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ भाद्र २०८३, शनिबार ०६:४७

फेयर लन, न्यू जर्सी/पैयुँ, पर्वत । ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहल तथा ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ। परियोजनाको भव्य उद्घाटन वि.सं. २०८३ माघको तेस्रो साता गर्ने लक्ष्य राखिएको छ।

टुहुरा, विपन्न, अल्पसंख्यक तथा अवसरबाट वञ्चित बालबालिकालाई निःशुल्क सुरक्षित आवास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण, कम्प्युटर शिक्षा तथा आत्मनिर्भर जीवनका लागि आवश्यक सीप उपलब्ध गराउने उद्देश्यले सम्सारा घर निर्माण गरिएको हो।

हाल यहाँ १० जना बालबालिका आश्रित छन् भने आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क सेवा दिने लक्ष्य राखिएको छ।

आश्रय मात्र होइन, आत्मनिर्भर भविष्य निर्माणको अभियान

सम्सारा घरलाई केवल बालबालिकालाई राख्ने आश्रयस्थलका रूपमा नभई उनीहरूलाई भविष्यका सक्षम, जिम्मेवार र आत्मनिर्भर नागरिक बनाउने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको छ। बालबालिकाले किताबी शिक्षासँगै नेतृत्व विकास, व्यावसायिक तालिम, जीवनोपयोगी सीप तथा उच्च शिक्षासम्मको अवसर प्राप्त गर्नेछन्।

परियोजनाका लागि चार रोपनी जग्गा दान गरिएको छ भने कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्न थप तीन रोपनी जग्गा खरिद गरिएको छ। परिवारको स्वामित्वमा रहेको थप खेतीयोग्य जमिनसमेत फाउन्डेशनलाई निःशुल्क प्रयोगका लागि उपलब्ध गराइएको छ।

कृषि र पशुपालनबाट सम्सारा घर आत्मनिर्भर बनाउने योजना

परियोजनाअन्तर्गत गाई–भैंसीबाट दूध, बाख्राबाट मासु तथा कुखुराबाट मासु र अण्डा उत्पादन गर्ने योजना छ। आफ्नै जमिनमा धान, मकै, गहुँ, कोदो, तरकारी तथा मौसमी बाली उत्पादन गरिनेछ।

आवश्यकताभन्दा बढी उत्पादन भएका कृषि तथा पशुजन्य सामग्री स्थानीय बजारमा बिक्री गरी त्यसबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, तालिम तथा परियोजनाको विकासमा पुनः लगानी गरिनेछ। यसले परियोजनालाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ।

२५० सिटको सभाहलदेखि पुस्तकालय र कम्प्युटर प्रयोगशालासम्म

सम्सारा घरमा सुरक्षित आवाससँगै २५० सिट क्षमताको बहुउद्देश्यीय सभाहल, खेल मैदान, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, स्वयंसेवक आवास तथा नेतृत्व विकास केन्द्र निर्माण गरिनेछ।

पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला Rotary International Global Grant अन्तर्गत अमेरिकाको Fair Lawn Sunrise Rotary Club र नेपालको Fishtail Rotary Club, Pokhara को सहकार्यमा निर्माण भइरहेको छ।

१० करोडको सामाजिक लगानी

सम्पूर्ण परियोजनाको अनुमानित लागत करिब १० करोड रुपैयाँ (करिब ६ लाख ७० हजार अमेरिकी डलर) रहेको छ। संस्थाका अनुसार यो भवन निर्माणमा गरिएको लगानी मात्र नभई नेपालका अवसरविहीन बालबालिकाको सुरक्षित, शिक्षित र आत्मनिर्भर भविष्य निर्माणका लागि गरिएको दीर्घकालीन सामाजिक लगानी हो।

परियोजनामा आर्थिक पारदर्शितालाई समेत प्राथमिकता दिइएको छ। प्राप्त नगद दान दैनिक सञ्चालनमा खर्च नगरी प्रत्येक बालबालिकाको नाममा बचत कोषमा सुरक्षित राखिने र माध्यमिक शिक्षा पूरा गरेपछि उच्च शिक्षा, व्यावसायिक तालिम वा भविष्य निर्माणमा प्रयोग गर्न उपलब्ध गराइने व्यवस्था गरिएको छ।

व्यवसायको नाफा समाजसेवामा

राजेन्द्र श्रेष्ठको सामाजिक अभियानको अर्को महत्वपूर्ण पक्ष सामाजिक उद्यमशीलता हो। श्रेष्ठ परिवारद्वारा सञ्चालित ARC Beauty SalonHimalayan Fresh Water बाट हुने नाफाको ७५ प्रतिशत हिस्सा ARC for Nepal मार्फत नेपाल तथा अमेरिकामा सामुदायिक सेवा र बालबालिकाको भविष्य निर्माणमा समर्पित गरिएको संस्थाले जनाएको छ।

संस्थाले व्यवसायिक सफलतालाई समाजसेवासँग जोड्दै ‘आफू मात्र अघि बढ्ने होइन, अरूलाई पनि अघि बढ्ने अवसर सिर्जना गर्ने’ अवधारणालाई अभियानका रूपमा अघि सारेको छ।

सम्सारा घर उद्घाटनको तयारी अन्तिम चरणमा पुगेसँगै ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनले विश्वभर रहेका व्यक्ति, व्यवसायी, रोटरी क्लब, संघ–संस्था तथा दातृ निकायलाई अभियानमा सहयात्री बन्न आह्वान गरेका छन्।

परियोजनाबारे थप जानकारीका लागि ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठ (Ray) लाई (201) 519-2959 वा [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ। थप जानकारी ARC for Nepal को आधिकारिक वेबसाइट बाट प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor