५० बालबालिकाको भविष्य बदल्ने लक्ष्य,निःशुल्क आवासदेखि शिक्षासम्म
पर्वत । अवसरबाट वञ्चित बालबालिकालाई निःशुल्क आवास, शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भर जीवनको अवसर दिने उद्देश्यले ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहलमा पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजनाको उद्घाटन तयारी अन्तिम चरणमा पुगेको छ। उद्घाटन २०८३ साल माघको तेस्रो साता गर्ने लक्ष्य राखिएको छ।
ARC for Nepal राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा निर्माण भइरहेको सम्सारा घरमा हाल १० जना बालबालिका आश्रित छन्। आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क आवास, शिक्षा, स्वास्थ्य, कम्प्युटर शिक्षा, नेतृत्व विकास तथा व्यावसायिक सीप उपलब्ध गराउने लक्ष्य छ।
परियोजनालाई आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनसमेत अघि बढाइएको छ। गाई–भैंसी, बाख्रा र कुखुरापालनसँगै धान, मकै, गहुँ, कोदो तथा तरकारी उत्पादन गरिनेछ। आवश्यकताभन्दा बढी उत्पादन बिक्रीबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षा, स्वास्थ्य र परियोजनामै पुनः लगानी गरिनेछ।
सम्सारा घर निर्माणका लागि चार रोपनी जग्गा दान तथा कृषि कार्यक्रमका लागि थप तीन रोपनी जग्गा खरिद गरिएको छ। परियोजनाअन्तर्गत २५० सिटको सभाहल, खेल मैदान, पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा नेतृत्व विकास केन्द्र निर्माण गर्ने योजना छ। पुस्तकालय र कम्प्युटर प्रयोगशाला Rotary International Global Grant, Fair Lawn Sunrise Rotary Club र Fishtail Rotary Club, Pokhara को सहकार्यमा निर्माण भइरहेको छ।
सम्पूर्ण परियोजनाको अनुमानित लागत करिब १० करोड रुपैयाँ रहेको छ। प्राप्त नगद दानलाई बालबालिकाको नाममा बचत कोषमा राखी उनीहरूको उच्च शिक्षा, तालिम तथा भविष्य निर्माणमा प्रयोग गर्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।
श्रेष्ठ परिवारद्वारा सञ्चालितARC Beauty Salon र Himalayan Fresh Water को नाफाको ७५ प्रतिशत हिस्सा समेत ARC for Nepal मार्फत सामाजिक सेवा र बालबालिकाको भविष्य निर्माणमा समर्पित गरिएको छ।
‘सम्सारा घर’ केवल आश्रयस्थल नभई शिक्षित, सक्षम र आत्मनिर्भर नागरिक निर्माण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको ARC for Nepal ले जनाएको छ।
सम्पर्क : राजेन्द्र श्रेष्ठ (Ray) — 201-519-2959 | [email protected]
samsara_jpg_reduced samsara_jpg_reduced




प्रतिक्रिया