हिसानको ३०औँ स्थापना दिवस मंसिर ११ गते, विद्यार्थी ह्याकाथन माघ ८ देखि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८३, बिहीबार ०७:१५

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस आगामी मंसिर ११ गते शुक्रबार विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

स्थापना दिवसको अवसरमा बिहान ७ बजे थापाथलीस्थित ट्रेड टावरबाट दौड प्रतियोगिता सुरु हुनेछ। त्यसैगरी बिहान ८ बजेदेखि विशेष स्थापना दिवस समारोह आयोजना गरिने हिसानले जनाएको छ।

समारोहमा शिक्षाविद्, प्राचार्य, शिक्षक, विद्यार्थी तथा शिक्षाक्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा शैक्षिक कार्यपत्र प्रस्तुति, स्मारिका विमोचन तथा अन्य सिर्जनात्मक गतिविधिसमेत सञ्चालन गरिनेछ।

हिसानका अध्यक्ष युवराज शर्माले ३० वर्षको यात्रामा संस्थाले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले निजी क्षेत्रले विदेशिने विद्यार्थीको संख्या रोक्न प्रयास गरिरहेको उल्लेख गर्दै नेपालमै राम्रा विश्वविद्यालय र कलेज हुँदाहुँदै पनि विद्यार्थी विदेशिने क्रम चुनौतीका रूपमा रहेको बताए। अब हिसानले उच्च शिक्षाको गुणस्तर सुधारमा थप काम गर्ने उनको भनाइ थियो।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय विद्यार्थी ह्याकाथन माघ ८ देखि

हिसान र लेट्स लर्नको संयुक्त आयोजनामा आगामी माघ ८, ९ र १० गते काठमाडौंमा राष्ट्रिय विद्यार्थी ह्याकाथन आयोजना हुने भएको छ।

‘राष्ट्रिय विद्यार्थी ह्याकाथन–आज सिर्जना गर्नुहोस्, भोलि रूपान्तरण गर्नुहोस्’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा देशभरका १० हजारभन्दा बढी विद्यार्थीलाई जोड्ने लक्ष्य राखिएको छ।

ह्याकाथनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जा, दिगो कृषि तथा पानी व्यवस्थापनलगायत जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा विद्यार्थीले नवीनतम समाधान र परियोजना प्रस्तुत गर्नेछन्। कार्यक्रम हाईस्कुल ट्र्याक र युनिभर्सिटी ट्र्याक गरी दुई विधामा सञ्चालन हुनेछ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कार, मेन्टरसिप, इन्क्युबेसन तथा प्रारम्भिक लगानीको अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

तेस्रो हिसान म्याराथन मंसिर ११ गते

हिसानको ३०औँ स्थापना दिवसकै अवसरमा तेस्रो हिसान म्याराथन पनि मंसिर ११ गते आयोजना हुने भएको छ।

म्याराथन बिहान ६ः३० बजे थापाथलीस्थित ट्रेड टावरबाट सुरु हुनेछ। करिब पाँच किलोमिटर दूरीको प्रतियोगिता थापाथली, त्रिपुरेश्वर, दशरथ रंगशाला, बागदरबार, रत्नपार्क, पुरानो बसपार्क र भद्रकाली हुँदै पुनः ट्रेड टावरमा पुगेर सम्पन्न हुनेछ।

प्रतियोगितामा महिला तथा पुरुष गरी करिब ५०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor