काठमाडौं। प्रधानाध्यापक एशोसिएसन नेपाल (पान) द्वारा गठित स्वतन्त्र विज्ञ मूल्याङ्कन समितिले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकालाई शिक्षा क्षेत्रतर्फ बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका घोषणा गरेको छ।
प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित समितिले नगरपालिकाले शिक्षा क्षेत्रमा सञ्चालन गरेका नवीन कार्यक्रम र सुधारका प्रयासहरूको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको हो।
नगरपालिकाले शिक्षक बैंक, सघन शिक्षण–सिकाइ सेसन, कार्यसम्पादन करार, रोजगार तथा वृत्ति मार्गदर्शन मेला, रमाइलो शुक्रबार, शिक्षक सम्मेलन तथा विद्यार्थी सशक्तीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले शिक्षा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण टिम, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूलाई बधाई तथा शुभकामना दिएका छन्। उनले यो सफलता सबैको सामूहिक प्रयास, मेहनत र सहकार्यको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताएका छन्।
नगरपालिकाको यो उपलब्धिले शिक्षा क्षेत्रमा थप जिम्मेवारी र उत्साह थपेको छ। शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहकार्यबाट प्राप्त यो सम्मानलाई आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अवसरका रूपमा लिनुपर्ने देखिन्छ।
प्रतिक्रिया