आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८३, बिहीबार ०६:५२

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारसहित विपक्षीका नाममा आदेश दिएको हो।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष डोल्मालाई विपक्षी बनाइएको छ।

अदालतको आदेशअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा कोष र उपाध्यक्ष डोल्माले आफैँ वा कानुन व्यवसायीमार्फत लिखित जवाफ पेस गर्नुपर्नेछ।

त्यस्तै, निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षबीच छलफल गर्न सर्वोच्चले आगामी मंसिर १४ गतेका लागि पेसी तोकेको छ।

यसअघि राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहित विरजन विश्वकर्मा र सफलता बोगटीले डोल्माको नियुक्ति गैरकानुनी र विधि प्रक्रियाविपरीत भएको दाबी गर्दै बदर गर्न मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।

रिट निवेदनमा आनी छोइङको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा नियुक्ति गरिएको र ‘सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१’ अनुसार आवश्यक योग्यता नपुगेको जिकिर गरिएको छ।

मन्त्रिपरिषद्ले गत असोज ३० गते डोल्मालाई लुम्बिनी विकास कोष ऐनबमोजिम पाँच वर्षे कार्यकालका लागि उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। नियुक्तिको विरोधमा नागरिक स्तरबाट खबरदारी भइरहेका बेला उनले गत मंसिर २ गते औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor