काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनमा देखिएको जस्तो लहर आगामी स्थानीय तहको निर्वाचनमा नचल्ने बताएका छन्।
तनहुँको आँबुखैरेनीमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तित्व, राजनीतिक इतिहास र पृष्ठभूमिलाई प्राथमिकता दिने बताएका हुन्।
स्थानीय तहका उम्मेदवार प्रत्यक्ष रूपमा जनताको सम्पर्कमा रहने भएकाले उनीहरूको व्यक्तिगत छवि, व्यवहार र विगतको कामले चुनावी परिणाममा प्रभाव पार्ने उनको भनाइ थियो। उम्मेदवारलाई नचिनी र उसको पृष्ठभूमि नबुझी मतदाताले मतदान नगर्ने उल्लेख गर्दै उनले स्थानीय निर्वाचनमा पहिलेजस्तो चुनावी लहर आउन कठिन हुने धारणा राखे।
प्रचण्डले आगामी स्थानीय निर्वाचनमा आफ्नो पार्टीले राम्रो परिणाम ल्याउन सके देशको समग्र राजनीतिक परिस्थितिमा समेत सकारात्मक परिवर्तन आउने बताए। उनले त्यसका लागि चुनावी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै स्थानीय निर्वाचनको नतिजाले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने उल्लेख गरे।
प्रतिक्रिया