काठमाडौं। अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (International Project Development Forum–IPDF) ले पर्यटन तथा आतिथ्य विकास विभागको विभागीय प्रमुख (HOD) मा सुबित गुरुङलाई नियुक्त गरेको छ।
IPDF का अध्यक्ष मुकुन्द ढुंगानाले गुरुङलाई विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरेका हुन्। उनको कार्यकाल तीन वर्षको रहनेछ।
नेपालको पर्यटन प्रवर्द्धन, पर्यटन पूर्वाधार विकास, आतिथ्य सेवा विस्तार, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन बजारको विकास र पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले गुरुङलाई उक्त जिम्मेवारी दिइएको IPDF ले जनाएको छ।
विभागीय प्रमुखका रूपमा गुरुङले नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहसिक तथा ग्रामीण पर्यटनका सम्भावना पहिचान गरी योजना तथा कार्यक्रम तयार गर्नेछन्। साथै, पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्पर्क विस्तार, पर्यटन मेला तथा प्रदर्शनीमा सहभागिता र होटल, रिसोर्ट, होमस्टे, ट्राभल एजेन्सी तथा पर्यटन व्यवसायीसँग सहकार्य विस्तार गर्ने जिम्मेवारीसमेत उनको हुनेछ।
त्यसैगरी पर्यटन क्षेत्रमा लगानीका अवसर पहिचान, परियोजना प्रस्ताव निर्माण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन र सरकारी तथा निजी क्षेत्रसँग समन्वय गर्ने जिम्मेवारी पनि गुरुङलाई दिइएको छ।
युवा, महिला तथा स्थानीय समुदायलाई पर्यटन उद्यमशीलतामा जोड्दै स्थानीय संस्कृति, कला, परम्परा र उत्पादनको संरक्षणसहित समुदायमा आधारित पर्यटन प्रवर्द्धन गर्नु पनि विभागको प्राथमिकतामा रहनेछ।
गुरुङले विभागको वार्षिक कार्ययोजना तथा परियोजना तयार गरी कार्यान्वयन गर्ने र त्यसको प्रगति विवरण IPDF केन्द्रीय कार्यालयमा पेश गर्नेछन्। संस्थाको नीति, उद्देश्य र निर्देशनअनुसार विभागको नेतृत्व तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत उनलाई दिइएको छ।
IPDF ले पर्यटन तथा आतिथ्य क्षेत्रको विकास, लगानी विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनाको पहिचान तथा कार्यान्वयनमा गुरुङको नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया