काठमाडौं। सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अलअन्सारीबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार भएको भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध, नेपाली श्रमिकको हकहित, कतारी लगानी, व्यापार, पर्यटन तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो।
भेटमा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि कायम रहेको नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी विश्वास र सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने बताए।
उनले कतारमा कार्यरत नेपाली श्रमिकले त्यहाँको आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उनीहरूको हकहित, सुरक्षा र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक सहकार्य गर्न आग्रह गरे।
सभामुख अर्यालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधिलगायतका क्षेत्रमा कतारी लगानी भित्र्याउन आग्रह गरे। नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सम्भावना औँल्याउँदै फलफूल, तरकारी र अन्न कतार निर्यात गर्ने वातावरण बनाउन पनि उनले राजदूतसमक्ष आग्रह गरे।
त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न आग्रह गर्दै उनले हवाई सम्पर्क विस्तारले पर्यटन र व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने बताए। खेलकुदको विकास र प्रवर्द्धनमा पनि दुवै देशबीच सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो।
गत वर्ष भोटेकोशी नदीमा आएको बाढीपछि कतार सरकारले उपलब्ध गराएको मानवीय सहयोग, ऐक्यबद्धता र समवेदनाप्रति सभामुख अर्यालले धन्यवाद व्यक्त गरे। नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि कतारबाट थप सहयोगको अपेक्षा पनि उनले राखे।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा हुँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै उनले विश्व शान्ति र स्थायित्वका लागि संवाद तथा कूटनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताए।
भेटमा राजदूत अलअन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन र आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सकारात्मक रहेको बताए।
प्रतिक्रिया