सातै प्रदेशमा दीक्षान्त गर्ने त्रिविको तयारी, फारम भर्ने विद्यार्थी भने न्यून

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० मंसिर २०८३, बुधबार ०७:३८

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरे पनि समारोहमा सहभागी हुन फारम भर्ने विद्यार्थीको संख्या न्यून देखिएको छ। विशेषगरी बागमती प्रदेशबाहिर हुने समारोहमा सहभागी हुन चाहने विद्यार्थीको संख्या निकै कम छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुका अनुसार यसपटक दीक्षित हुन योग्य विद्यार्थीको संख्या ९४ हजार ५५४ छ। तर, दीक्षान्त समारोहमा सहभागी हुन २१ हजार २७४ जनाले मात्रै फारम भरेका छन्। तीमध्ये बागमती प्रदेशमा हुने समारोहका लागि १४ हजार ६९१ जनाले फारम भरेका छन्।

अन्य प्रदेशमा गण्डकीका २ हजार २१५, कोशीका २ हजार १०, लुम्बिनीका १ हजार ५५४, मधेशका ३६४, सुदूरपश्चिमका २८१ र कर्णालीका १५९ जनाले फारम भरेका छन्। दीक्षान्त समारोहमा सहभागी हुन चर्को शुल्क तिर्नुपर्ने, भिडभाड हुने र प्रमाणपत्र लिन लामो समय लाइन बस्नुपर्ने जस्ता कारणले विद्यार्थीको सहभागिता कम हुने गरेको बताइएको छ।

विगतमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै आएको दीक्षान्त समारोह यसपटक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गर्ने तयारी छ। काठमाडौंमै आउनुपर्ने बाध्यता हटाउन र भिड व्यवस्थापन गर्न प्रादेशिकस्तरमा पनि समारोह आयोजना गर्न लागिएको परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेलले बताए।

उनका अनुसार सुरुमा काठमाडौंमा दीक्षान्त समारोह हुनेछ भने त्यसपछि अन्य प्रदेशमा आयोजना गरिनेछ। पुसको दोस्रो सातासम्म सबै समारोह सम्पन्न गर्ने लक्ष्य राखिए पनि मिति र स्थान भने तय भइसकेका छैनन्।

त्रिविले यस वर्षदेखि प्रादेशिकस्तरमा दीक्षान्त समारोह गर्ने विषयलाई वार्षिक नीति तथा कार्यक्रममा समेत समेटेको थियो। समारोहका लागि गत कात्तिक १७ गतेसम्म फारम भर्ने समय दिइएको थियो। विद्यार्थीलाई आफूलाई पायक पर्ने स्थान रोज्न आग्रह गरिए पनि अधिकांशले काठमाडौंमै हुने समारोहका लागि फारम भरेका छन्।

यद्यपि, विभागीय टपर, एमफिल र पिएचडी उत्तीर्ण विद्यार्थीको दीक्षान्त भने काठमाडौंमै हुनेछ। उनीहरूको संख्या सीमित हुने भएकाले काठमाडौंमै प्रमाणपत्र र पदक वितरण गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक पौडेलले बताए। सम्बन्धित विभागमा उनीहरूको नतिजा विवरण पठाइसकिएको छ।

यसैबीच, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह यसपटकको दीक्षान्त समारोहमा सहभागी नहुने बुझिएको छ। प्रधानमन्त्रीको सचिवालयले त्रिविलाई उनी सहभागी नहुने जानकारी गराएको त्रिविका एक पदाधिकारीले बताएका छन्। समारोहमा सहकुलपति तथा शिक्षामन्त्री सहभागी हुने जानकारी आएको छ।

विगतमा त्रिविको दीक्षान्त समारोहमा प्रधानमन्त्री स्वयं उपस्थित भएर उत्कृष्ट विद्यार्थी, एमफिल र पिएचडी उत्तीर्णलाई प्रमाणपत्र वितरण गर्ने परम्परा थियो। यसपटक प्रधानमन्त्री सहभागी नहुने भएपछि उक्त परम्परा टुट्ने देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor