काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्।
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उनले प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुनर्निर्माण गर्नुपर्ने धारणा राखे।
प्रभावित बासिन्दा वर्षौँदेखि बसोबास गर्दै आएको पुख्र्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका स्थानीयले जोखिम न्यूनीकरण गरी सोही क्षेत्रमा बस्ती पुनर्निर्माण गर्न माग गरेको उल्लेख गर्दै थापाले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिनुपर्ने बताए।
उनले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनःस्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे। सडक, पुल, विद्युत् आयोजना तथा सार्वजनिक संरचनासँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि पुनःस्थापनाको योजनामा समेट्नुपर्ने उनको भनाइ थियो।
सरकारले पुनर्निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्नेमा जोड दिँदै थापाले पुनर्निर्माण र पुनःस्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने बताए। यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने उनको प्रतिबद्धता थियो।
प्रतिक्रिया