जनकपुरधाम, ६ मङ्सिर। भगवान् रामको जन्मस्थल भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह छाएको छ। दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुँदा धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यही मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए। उनका अनुसार भारतीय रेल्वेले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ। निर्धारित तालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या पुग्नेछ। रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्याबाट छुटेर मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ।
रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्। अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर सेवा सुरु गरिनेछ। कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह भिडियो कन्फरेन्समार्फत सहभागी हुने पराजुलीले बताए।
होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु दुई देशको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण कदम भएको बताए। यसले रामायण सर्किटको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै तीर्थयात्री, पर्यटक र व्यवसायी लाभान्वित हुने उनको विश्वास छ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवाले होटल, रेस्टुराँ, यातायात, हस्तकला तथा धार्मिक सामग्रीको व्यापार विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए। अयोध्यामा राममन्दिर निर्माणपछि बढेको धार्मिक पर्यटकको आकर्षणलाई जनकपुरधामसम्म जोड्न सके भारतीय तीर्थयात्रीका लागि नेपाल महत्वपूर्ण गन्तव्य बन्न सक्ने उनले बताए।
भण्डारीले जानकी मन्दिरबाहेक रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा सांस्कृतिक स्थलको पहिचान, संरक्षण र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। स्तरीय होटल, यातायात र पर्यटकमैत्री पूर्वाधार विकास गर्न सके रेल सेवाबाट प्राप्त अवसरलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उनको भनाइ छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका युवा व्यवसायी जीवछ महाशेठले रेल सेवा सुरु भएपछि अयोध्यास्थित राममन्दिरलगायत धार्मिकस्थल पुग्न सहज हुने बताए। क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले पनि सिधा रेल सेवाले लामो र झन्झटिलो यात्रा सहज बनाउने भन्दै खुसी व्यक्त गरे।
होटल तथा पर्यटन व्यवसायी सङ्घ धनुषाका अध्यक्ष रूपेश सिंहले भारतका विभिन्न प्रान्तबाट अयोध्या आउने पर्यटकलाई जनकपुरधाम भ्रमण गर्न सहज हुने बताए। जनकपुरधाम र अयोध्याबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई रेल सेवाले थप बलियो बनाउने र मिथिलाको कला, संस्कृति, खानपान तथा स्थानीय उत्पादनको प्रचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी र जानकी नवमीलगायत पर्वलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न रेल सेवाले महत्वपूर्ण भूमिका खेल्न सक्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले बताए। धार्मिक पर्यटकलाई मन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक जीवन, ऐतिहासिक स्थल र स्थानीय उत्पादनसँग परिचित गराउन सके स्थानीय व्यवसायले थप लाभ लिन सक्ने उनको भनाइ छ।
नेपाल र भारतका दुई धार्मिक नगरीबीच रेल सम्पर्क स्थापना हुनुलाई धार्मिक आस्था, सांस्कृतिक आदानप्रदान र आर्थिक सहकार्य विस्तारको नयाँ अवसरका रूपमा हेरिएको छ।
प्रतिक्रिया