दैलेख। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्। घटनामा अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार स्थानीय ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा चिर्ने बन्चरोले श्रीमती र तीन सन्तानको टाउकोमा प्रहार गरेका थिए।
घटनामा ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मा घाइते भएका थिए। उनीहरूलाई एम्बुलेन्समार्फत दुल्लु नगर अस्पताल पुर्याइएकोमा चिकित्सकले बिहान ११ः१० बजे तपेन्द्र र करिस्मालाई मृत घोषणा गरेका थिए।
गम्भीर घाइते मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। उनको दिउँसो २ः३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते ६ वर्षीय मिलनको भने उपचार भइरहेको छ।
प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर दूरीमा रहेको घटनास्थलमा खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली पुगेको थियो।
प्रहरीले घटनामा संलग्न अम्बरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए।
प्रतिक्रिया