मुस्ताङ। नेपाल–चीन सीमास्थित कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजारभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्षभरि उक्त नाकाबाट तीन हजार २२३ वटा विद्युतीय गाडी आयात भएकामा यस वर्ष चार महिनामै सात हजारभन्दा बढी भित्रिएका हुन्। छोटो अवधिमा यति ठूलो सङ्ख्यामा विद्युतीय सवारी आयात भएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि विद्युतीय सवारीसाधनसहितका मालसामान कोरला नाकाबाट आयात हुने क्रम बढेको हुन सक्ने भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिए।
उनका अनुसार साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।
तर, आयात भएका सवारीसाधन गन्तव्यसम्म पुर्याउन जोखिमपूर्ण सडक र दक्ष चालकको अभाव चुनौती बनेको छ। यही समस्याका कारण भन्सार जाँचपास भएर गन्तव्यतर्फ लागेका दर्जनौँ विद्युतीय सवारीसाधन अझै सडक तथा बाटोमै रोकिएका छन्।
चार महिनामै उठ्यो १२ अर्ब ५५ करोड राजस्व
मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयको वार्षिक राजस्व लक्ष्य नौ अर्ब रुपैयाँ रहेकामा चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व उठेको भन्सार अधिकृत सिंहले जानकारी दिए।
कार्यालयका अनुसार पहिलो चौमासिकमा चीनबाट ३० अर्ब नौ करोड नौ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्। उक्त नाकाबाट मुख्य रूपमा विद्युतीय सवारीसाधन, लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न आयात हुने गरेका छन्।
यसै अवधिमा कोरला नाका हुँदै नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका मालवस्तु चीनतर्फ निर्यात भएका छन्। नेपालबाट मुख्य रूपमा हस्तकलाका सामग्री तथा विभिन्न नेपाली उत्पादन चीनतर्फ निर्यात हुने गरेको भन्सार अधिकृत सिंहले बताए।
प्रतिक्रिया