काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि २७ वटा रणनीतिक क्षेत्र समेटेर कार्यक्रम अघि बढाउने भएको छ।
धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलोको प्रयोग, हरियाली विस्तार तथा प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।
उनका अनुसार महानगरले १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार पारेको छ। कार्ययोजनामा सडकको धुलो, सवारीसाधनको धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ।
राईले काठमाडौंको भौगोलिक बनावटका कारण वायु प्रदूषणको असर बढी पर्ने भएकाले साझा प्रयासबाट यसको न्यूनीकरण गर्ने लक्ष्य महानगरले लिएको बताइन्। उनले भनिन्, “कामपा नसर्ने रोग र चोटपटकबाट नागरिकलाई बचाउन प्रतिबद्ध विश्वका सहरहरूको सञ्जालको सदस्य पनि हो। सोही कारण विश्व स्वास्थ्य सङ्गठन र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। तीमध्ये वायु प्रदूषण नियन्त्रण पनि एउटा महत्त्वपूर्ण कार्यक्रम हो।”
कार्ययोजनाले वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत महानगरका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गरिनेछ। प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरवलोकन गर्नुका साथै विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रका लागि विशेष व्यवस्था गरिनेछ।
त्यस्तै, विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ। कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न महानगरका ३२ वटै वडा कार्यालयसहित विषयगत विभाग र निकायलाई जिम्मेवारी तोकिएको राईले बताइन्।
कार्ययोजनाअनुसार यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभाग र वडा कार्यालयले आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नेछन्।
महानगरका अनुसार केही कार्यक्रम तत्काल र निरन्तर सञ्चालन गरिनेछ भने केही महिनाभित्र, एक वर्षभित्र तथा केही कार्यक्रम दुईदेखि पाँच वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रतिक्रिया