काठमाडौं । साहित्य, कला र संगीतको उत्सवका रूपमा साङ्ग्रिला लिटरेचर फेस्टिबलको पहिलो संस्करण आगामी पुस ११ र १२ गते ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ।
काठमाडौं साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्न लागेको दुईदिने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमी सहभागी हुनेछन्।
महोत्सवका निर्देशक केन सुवेदीका अनुसार भारतका कम्तीमा छ जना ख्यातिप्राप्त लेखक सहभागी हुनेछन्। सहभागी हुने लेखकमा मनु जोसेफ, रुचिर जोशी, जेरी पिन्टो र सतीश पद्मनाभन रहेका छन्।
महोत्सवमा साहित्य, दृश्य कला, प्रदर्शन कला, पुस्तक, संस्कृति र समाजसँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रियात्मक छलफल हुनेछन्। दुईवटा हलमा एकैसाथ सञ्चालन हुने सत्रमा बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र कवितालगायतका विषय समेटिने आयोजकले जनाएको छ।
साहित्यिक छलफलसँगै सांस्कृतिक नृत्य, संगीत र अन्य कलात्मक प्रस्तुति पनि रहनेछन्। उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने समापनमा वाद्यवादनसहितको सांगीतिक कार्यक्रम आयोजना हुनेछ।
महोत्सवमा पुस्तक प्रदर्शनीका स्टल राखिनेछन्। आगन्तुकले पुस्तक अवलोकन तथा खरिद गर्न सक्नेछन् भने पुस्तक हस्ताक्षर कार्यक्रममार्फत लेखकसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्ने अवसर पनि पाउनेछन्।
आयोजकले यसअघि एक वर्षसम्म साहित्यिक संवाद कार्यक्रम ‘साङ्ग्रिला संवाद’ सञ्चालन गरेको थियो। सोही कार्यक्रमको निरन्तरताका रूपमा साहित्य महोत्सव आयोजना गर्न लागिएको हो।
साहित्य र कलामार्फत पठन संस्कृतिको विकास, सिर्जनात्मक अभिव्यक्तिको प्रोत्साहन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ। महोत्सवमा प्रवेश निःशुल्क हुनेछ। सहभागी लेखक तथा कलाकर्मी र कार्यक्रमको विस्तृत विवरण पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया