मोदी–बालेनबीच आज उच्चस्तरीय वार्ता, आर्थिक साझेदारी र ऊर्जा सहकार्य प्राथमिकतामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ मंसिर २०८३, सोमबार ०६:४१

नयाँदिल्ली। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा हुने यस वार्तालाई दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

आइतबार राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आइतबार साँझ होटल ताजमा शिष्टाचार भेट गरेका थिए। करिब आधा घण्टा चलेको भेटमा द्विपक्षीय हित, आपसी सम्बन्ध तथा सोमबार हुने औपचारिक कार्यक्रम र सम्झौताबारे छलफल भएको थियो। भेटपछि जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताका रूपमा लिएको बताएका थिए।

सोमबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि प्रधानमन्त्री शाह र मोदीबीच एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर र आदानप्रदान हुनेछ। त्यसपछि संयुक्त पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धि सार्वजनिक गरिने कार्यक्रम छ।

वार्तामा आर्थिक साझेदारी, ऊर्जा व्यापार, पूर्वाधार विकास, पारवहन र सम्पर्क सञ्जाल विस्तार प्रमुख एजेन्डाका रूपमा रहनेछन्। नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउनुपर्ने विषय उठाउनेछ। विशेषगरी काठमाडौं–महेन्द्रनगर जोड्ने एल–६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न नेपालले प्राथमिकता दिएको छ।

बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र ठूला विकास आयोजनामा लगानी भित्र्याउन करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग तथा सहुलियतपूर्ण प्याकेजको प्रस्तावबारे पनि छलफल हुने बताइएको छ।

ऊर्जा सहकार्यअन्तर्गत नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेशसम्म निर्यात गर्न आवश्यक प्रसारण लाइन विस्तार, बजार पहुँच तथा तल्लो अरुण र पञ्चेश्वरजस्ता जलविद्युत् आयोजनाका विषयमा समीक्षा हुने अपेक्षा गरिएको छ। सीमा विवाद र जलस्रोतको दीर्घकालीन बाँडफाँटजस्ता जटिल विषय भने औपचारिक कार्यसूचीमा समावेश गरिएको छैन।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा समझदारीपत्र आदानप्रदान हुनेछ। जनकपुर–अयोध्या रेल सेवा र दार्चुला पुललगायतका परियोजनाका विषयमा पनि छलफल हुनेछ।

सोमबार दिउँसो प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदीले उनको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकारसहित ३५ सदस्यीय उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल र विभिन्न क्षेत्रका व्यवसायी सहभागी छन्।

दुवै देशका राष्ट्रिय हित, पारस्परिक लाभ र एकअर्काको संवेदनशीलताको सम्मान गर्दै हुने वार्ताले नेपाल–भारत सम्बन्धलाई थप व्यावहारिक र सहकार्यमा आधारित बनाउने अपेक्षा गरिएको छ। भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor