काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने तयारीसँगै सरकारले सहभागी आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिदिने भएको छ।
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री बालेन शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री शाहका अनुसार सरकारअन्तर्गतको पूर्वाधार विकास मन्त्रालयले आठवटै क्लबका लागि रंगशाला निर्माण गर्नेछ। सुदूरपश्चिम रोयल्सको घरेलु मैदानका रूपमा रहने फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइनेछ।
योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई सम्बन्धित क्लबको घरेलु मैदानका रूपमा विकास गरिनेछ।
आठवटै क्लबका आफ्नै घरेलु मैदान र फ्लडलाइटयुक्त रंगशाला बनेपछि एनपीएललाई देशका विभिन्न सहरमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया