सरकार गठन र संसद् विघटन असंवैधानिक : केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ मंसिर २०८३, आईतवार ०६:३८

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक तथा अलोकतान्त्रिक भएको आरोप लगाएका छन्।

पार्टीको जनवर्गीय संगठन ‘नेसनल भोलेन्टियर्स फोर्स’ को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार आतंक, आगजनी र तोडफोडको जगमा बनेको टिप्पणी गरे। उनले पछिल्ला राजनीतिक घटनाक्रमले देशको संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधिलाई कमजोर बनाएको दाबी गरे।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए। पूर्वप्रधानन्यायाधीश भइसकेका व्यक्तिले संविधान मिचेर प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको र उनकै एकल सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको उनको आरोप थियो।

उनले भने, “आफैं प्रधानन्यायाधीश भइसकेको व्यक्तिले संविधान मिचेर प्रधानमन्त्री बनी व्यक्तिगत तवरमा संसद् विघटनको सिफारिस गर्नुभयो। सम्माननीय राष्ट्रपतिले पनि डराएर असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्नुभयो र पछि लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिँदैन।”

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भए पनि समयमै फैसला नआएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे। अदालतको सम्मान गर्दै उनले विघटनको पक्ष वा विपक्षमा जे निर्णय उचित लाग्छ, त्यसबारे छिटो फैसला गर्नुपर्नेमा अदालत मौन बसेको टिप्पणी गरे।

राज्यका संवैधानिक तथा लोकतान्त्रिक निकायहरू विधिको शासनभन्दा आदेशका भरमा चल्न थालेको ओलीको जिकिर थियो। संविधान र लोकतन्त्रको रक्षाका लागि राज्यका निकायहरू कानुनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले देशलाई संवैधानिक तथा लोकतान्त्रिक मार्गमा फर्काउन युवाहरू संगठित हुनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor