काठमाडौं। पशुप्रति करुणा, दया र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज काठमाडौंमा ‘नेपाल भेगन ग्यालरी २०२६’ आयोजना हुँदैछ।
विश्व भेगन महिनाको अवसरमा काठमाडौं एनिमल सेभ मुभमेन्टको आयोजना तथा उत्पला क्याफेको सहयोगमा बौद्धस्थित उत्पला क्याफेमा कार्यक्रम हुन लागेको हो। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा ६० भन्दा बढी कलाकार, पशु अधिकार अभियन्ता तथा विभिन्न क्षेत्रका प्रस्तोताहरू सहभागी हुने आयोजकले जनाएको छ।
कार्यक्रममा कला प्रदर्शनी, प्रत्यक्ष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, भेगन खानाका स्टल, जानकारीमूलक सत्र र कला लिलामी लगायतका गतिविधि समावेश गरिनेछन्।
कलामार्फत पशुप्रति दया, करुणा र सहअस्तित्वको भावना फैलाउनुका साथै दिगो जीवनशैली र अहिंसात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्य कार्यक्रमको रहेको छ।
आयोजकले अभियानको समाचार सम्प्रेषण तथा प्रचारप्रसारका लागि सञ्चारमाध्यम, पत्रकार, कलाकार, सामाजिक अभियन्ता तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
प्रतिक्रिया