काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो। सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण भूमिका खेलेका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। उनले तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेटसमेत लिए। यसबापत उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। उनले ओमोडा एन्ड जाएको कार पुरस्कार पाए। प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका रिजन उत्कृष्ट बलरसमेत चुनिए र पल्सर मोटरसाइकल प्राप्त गरे। प्लेअफसम्म पुगेको चितवन तेस्रो स्थानमा सीमित भएको थियो।
विराटनगर किंग्सका लोकेश बम सर्वोत्कृष्ट ब्याटर घोषित भए। प्रतियोगितामा २४२ रन बनाएका उनले पल्सर मोटरसाइकल पाए। जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जित्दै पल्सर मोटरसाइकल प्राप्त गरे।
त्यस्तै, चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिश्राले रेड बुल इनर्जेटिक प्लेयरको अवार्डसहित दुई लाख रुपैयाँ प्राप्त गरे। उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड पाएको छ।
प्रतिक्रिया