काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले आजै भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेट गर्नेछन्। सोमबार प्रधानमन्त्री मोदीसँग उच्चस्तरीय प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ।
सोमबार नै प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नेछन्।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। द्विपक्षीय वार्तामा व्यापार, पारवहन, वैदेशिक लगानी, ऊर्जा व्यापार, अन्तरदेशीय सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गर्ने तयारी छ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको विशेष छलफलसमेत आयोजना हुनेछ। नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी तथा लगानीकर्तालाई सम्बोधन गर्नेछन्। कार्यक्रममा नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि गरेका नीतिगत सुधार र प्रयासबारे जानकारी गराइनेछ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन्।
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रतिक्रिया