२१ बुँदे प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८३, शुक्रबार ०५:४४

काठमाडौं। नेकपा (एमाले) को राष्ट्रिय भेला बिहीबार काठमाडौंको कार्की बैंक्वेटमा २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा संकल्प पारित गर्दै सम्पन्न भएको छ। बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने निर्णयसमेत गरेको छ।

भेलाले आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने संकल्प गरेको छ। राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा तथा जनसरोकारका विषयमा सार्थक संवाद, सहकार्य र जनदबाबका लागि एमालेले सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, सचेत नागरिक तथा बौद्धिक समुदायलाई आह्वान गरेको छ।

भेलामा शीर्ष नेताहरूले विभिन्न विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए। अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा मार्गनिर्देशन गरेका थिए। वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने संकल्प गरौँ’ विषयमा धारणा राखेकी थिइन्।

त्यसैगरी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि संकल्प गर्नुपर्ने विषयमा, उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताका पक्षमा गरेका महत्त्वपूर्ण कार्यबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे सम्बोधन गरेका थिए।

प्रशिक्षणका क्रममा अध्यक्ष ओलीले पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्थ भएदेखि नै सुरु भएको जिकिर गरेका थिए। लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्ने बताउँदै उनले भदौ २३ र २४ गतेका घटना तथा आफूहरूमाथिको घेराबन्दी बुझ्न नसक्नेले राजनीति नै नबुझेको टिप्पणी गरेका थिए। पुनर्जागरणका लागि प्रतिबद्धता र संकल्पसहित जनतामाझ जान उनले अगुवा कार्यकर्तालाई निर्देशन दिएका थिए।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित आयोजित भेलामा देशभर तथा प्रवासबाट तीन हजार ४१४ जना प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ। भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी थिए।

भेलाको उद्घाटन र बन्दसत्र सञ्चालन सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले गरेका थिए भने स्वागत सचिव पद्मा अर्यालले गरेकी थिइन्। स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव तथा संकल्प प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

slot gacor