काठमाडौं। हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्व हरिबोधिनी एकादशी आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वलाई ठूली एकादशी तथा देवउठानी एकादशी पनि भनिन्छ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजकै दिन जागा हुनुहुन्छ। भगवान् विष्णुको जागरणसँगै चार महिनाको चातुर्मास व्रत समाप्त हुने र विवाह, व्रतबन्धलगायत शुभकार्य सुरु गर्ने परम्परा छ।
हरिबोधिनी एकादशीका दिन तुलसी र भगवान् विष्णुको प्रतीक शालिग्रामको विवाह गर्ने विशेष धार्मिक परम्परा छ। तुलसीको मठलाई सजाएर विधिपूर्वक पूजा गरी तुलसी विवाह गरिन्छ। यस दिन भक्तजनहरू व्रत बसी भगवान् विष्णु तथा नारायणको पूजा–आराधना गर्ने र फलाहार गर्ने गर्छन्।
यस पर्वका अवसरमा काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायण मन्दिरमा विशेष पूजा तथा दर्शनका लागि श्रद्धालुको घुइँचो लाग्ने गर्दछ। त्यस्तै सुनसरीको बराहक्षेत्रलगायत देशका विभिन्न धार्मिक तथा तीर्थस्थलमा पनि भक्तजनको चहलपहल बढ्ने गर्छ।
हरिबोधिनी एकादशीलाई वर्षभरिका २४ एकादशीमध्ये विशेष महत्त्वपूर्ण मानिन्छ। धार्मिक विश्वासअनुसार यस दिन भगवान् विष्णुको पूजा, व्रत र तुलसी विवाह गर्नाले पुण्य प्राप्त हुनुका साथै सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ।
प्रतिक्रिया