काठमाडौं। सहसचिव उमेश ढुंगाना एक वर्षको अवधिमा दुई ठूला अनियमितता प्रकरणको अनुसन्धानमा तानिएका छन्। गत वर्ष उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएको थियो भने यसपटक मलेसिया जाने श्रमिकसँग अवैध असुली गरी संकलित रकम विदेश पठाउन सघाएको आरोपमा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार ढुंगानासहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन सचिव विनोद केसी तथा तत्कालीन रोजगार व्यवस्थापन महाशाखाका सहसचिव ढुंगाना र राजीव पोखरेललगायत छन्।
ढुंगाना लमजुङको प्रमुख जिल्ला अधिकारी (सीडीओ)का रूपमा कार्यरत रहेकै बेला गत वर्ष फागुन १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा उनी साधारण तारेखमा छुटेका थिए।
यातायात कार्यालयका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टर सञ्चालकको मिलेमतोमा घुस संकलन गरी साढे पाँच हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको अभियोगमा उनीसहितका व्यक्तिमाथि त्यतिबेला मुद्दा दायर भएको थियो।
प्रतिक्रिया