मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समयसम्म हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने र धमिलो देखिने समस्या हुन सक्छ। स्क्रिनमा एकोहोरो हेर्दा आँखाको परेला कम झिम्किने भएकाले आँखामा सुक्खापन बढ्न सक्छ। त्यसैले लामो समय स्क्रिन प्रयोग गर्दा आँखालाई नियमित आराम दिनु आवश्यक हुन्छ।
आँखालाई स्वस्थ राख्न २०–२०–२० नियम अपनाउन सकिन्छ। अर्थात्, प्रत्येक २० मिनेट स्क्रिन हेरेपछि कम्तीमा २० फिट टाढा रहेको वस्तुलाई २० सेकेन्डसम्म हेर्ने गर्नुपर्छ। यसले आँखालाई आराम दिन मद्दत गर्छ।
स्क्रिन हेर्दा सामान्यतया एक मिनेटमा १२ देखि १५ पटकसम्म परेला झिम्क्याउनुपर्छ। स्क्रिन र आँखाबीच कम्तीमा २० देखि २४ इन्च अर्थात् एक हातजति दूरी राख्नुपर्छ। स्क्रिनको माथिल्लो भाग आँखाको तहभन्दा केही तल हुने गरी मिलाउनु उपयुक्त हुन्छ।
त्यस्तै, स्क्रिनको उज्यालो कोठाको प्रकाशअनुसार मिलाउनुपर्छ। अँध्यारो कोठामा अत्यधिक उज्यालो स्क्रिन हेर्नु हुँदैन। झ्याल वा बत्तीको प्रकाश सिधै स्क्रिनमा परेर टल्किने समस्या भए स्क्रिनको दिशा परिवर्तन गर्ने वा उपयुक्त स्क्रिन गार्ड प्रयोग गर्न सकिन्छ।
शरीरमा पानीको कमी हुन नदिन पर्याप्त पानी पिउनु पनि आवश्यक छ। आँखा धेरै सुक्खा हुने वा पोल्ने समस्या भए चिकित्सकको सल्लाहमा आँखामा हाल्ने थोपा प्रयोग गर्न सकिन्छ। लामो समय स्क्रिन प्रयोग गर्ने व्यक्तिले आँखाको नियमित जाँच गराउनु पनि उपयुक्त हुन्छ।
डा. सञ्जीव भट्टराई, त्रिवि शिक्षण अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञका अनुसार, दैनिक लामो समय स्क्रिन हेर्नुपर्ने अवस्थामा आँखाको सुरक्षाका उपाय अपनाउनु आवश्यक छ।
प्रतिक्रिया