काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर–२ को रोमाञ्चक खेलमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक उपाधि भिडन्तमा पुगेको हो।
जितसँगै सुदूरपश्चिमले शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
सुदूरपश्चिमको जितमा थरिन्दु रत्नायके नायक बने। उनले अविजित ४९ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जितसम्म पुर्याए। एक समय दबाबमा रहेको सुदूरपश्चिमका लागि उनले एक छेउ सम्हाल्दै निर्णायक योगदान दिए।
सुदूरपश्चिमका ओपनर जर्ज मन्से ८ रनमा आउट भए भने विनोद भण्डारीले २३ रन बनाए। स्कट कुगलेइन २, ईशान पाण्डे १०, कप्तान दीपेन्द्रसिंह ऐरी १५ र आरिफ शेख १० रनमा आउट भए। चितवनका रन्जित कुमारले २ विकेट लिए भने सलाउद्दिन खान, उसामा मीर, कमलसिंह ऐरी र रिजन ढकालले समान एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।
चितवनका लागि डेविड मलानले अविजित ७१ रनको उत्कृष्ट पारी खेले। उनले ३९ बलमा अर्धशतक पूरा गरेका थिए। सलाउद्दिन खानले १८ र कमलसिंह ऐरीले १० रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
चितवनका ओपनर कामिल मिशारा ४ र देव खनाल ६ रनमा आउट भए। कप्तान रवि बोपारा १, विवेक यादव ३, कुशल मल्ल १ र उसामा मीर २ रनमा पेभिलियन फर्किए।
सुदूरपश्चिमका स्कट कुगलेइनले ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले समान एक विकेट लिए।
अब उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच शनिबार प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया