प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत, पञ्चेश्वरदेखि हवाई रुटसम्मका एजेन्डा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०८३, सोमबार ०५:५३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो औपचारिक विदेश भ्रमणका रूपमा भारत जाने तयारी गरेका छन्। भ्रमणको मिति र विस्तृत कार्यतालिका दुवै देशका परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक नगरे पनि कूटनीतिक तथा प्रशासनिक तहमा तयारी भइरहेको बताइएको छ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंसिरको पहिलो साताभित्र भारत भ्रमण गर्ने गरी आन्तरिक तयारी भइरहेको छ। भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारले लामो समयदेखि कार्यान्वयनमा ढिलाइ भएका द्विपक्षीय परियोजना तथा सम्झौतालाई प्राथमिकतामा राखेको जनाइएको छ।

भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, महेन्द्रनगरमा सुक्खा बन्दरगाह निर्माण तथा अन्य रोकिएका आयोजनालाई गति दिने विषय उठाइने बताइएको छ। त्यस्तै, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनका लागि आवश्यक नयाँ हवाई प्रवेश मार्ग (एयर इन्ट्री रुट) उपलब्ध गराउने विषय पनि नेपालको प्राथमिकतामा रहनेछ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतसँग आर्थिक सहयोग माग्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ। परराष्ट्र स्रोतका अनुसार सहुलियतपूर्ण ऋण र अनुदानसहित दुई अर्ब अमेरिकी डलरभन्दा बढी सहयोगको प्रस्ताव अघि सार्ने तयारी छ। पूर्वाधार पुनर्निर्माण, भारतीय लगानी तथा प्रविधि भित्र्याउने र सीमा समस्याबारे छलफल गर्ने विषय पनि भ्रमणका सम्भावित एजेन्डा छन्।

कूटनीतिक विश्लेषकहरूले विगतका उच्चस्तरीय भ्रमणमा भएका सहमति र संयुक्त वक्तव्य कार्यान्वयनमा कमजोर देखिएको उल्लेख गर्दै यसपटक स्पष्ट कार्यतालिका, समयसीमा र जवाफदेहितासहितका सहमति गर्नुपर्ने सुझाव दिएका छन्। भारतले नेपालको बदलिँदो भू–राजनीतिक गतिविधि तथा तेस्रो मुलुकसँगको बढ्दो सम्बन्धलाई आफ्नो सुरक्षा चासोका रूपमा उठाउन सक्ने उनीहरूको आकलन छ।

यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जनकपुरधाम र भारतको अयोध्याबीच प्रत्यक्ष रेल सेवा उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा चार जना मन्त्री सहभागी हुने बताइएको छ। स्रोतका अनुसार प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ रहनेछन्।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका पुराना सहमति कार्यान्वयन, पूर्वाधार विकास, आर्थिक सहयोग, हवाई सम्पर्क र सीमा समस्यालगायत विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि भ्रमणको औपचारिक मिति, एजेन्डा र सहमतिबारे दुवै देशका सरकारले घोषणा गर्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor