होबार्ट । अस्ट्रेलियाको तास्मानिया राज्यको राजधानी होबार्टमा नेपाली कला, संस्कृति, संगीत र परम्परा प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो संस्करणको नेपाल महोत्सव २०२६ भव्य रूपमा आयोजना गरिएको छ।
नोभेम्बर १४ शनिबार सालामान्कास्थित संसद् भवन परिसरमा आयोजित महोत्सवमा तास्मानियाकी गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। ‘एक देश, अनेक कथा’ भन्ने नारासहित आयोजित महोत्सवमा नेपाली समुदायका साथै अस्ट्रेलियाका विभिन्न समुदायका मानिसहरूको सहभागिता रहेको थियो।
महोत्सवको मुख्य आकर्षण नेपालबाट पुगेका कलाकार अनिल सिंह, प्रकाश सपूत र रचना रिमालको सांगीतिक प्रस्तुति थियो। उनीहरूका गीतमा दर्शकले मनोरञ्जन लिएका थिए। स्थानीय नेपाली कलाकार तथा सांस्कृतिक समूहले पनि गीत, संगीत र नृत्यमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
महोत्सवअघि दिउँसो १२ बजे म्याक्वेरी पोइन्टबाट सांस्कृतिक झाँकी तथा परेड सुरु भएको थियो। नेपाली मौलिक पोसाक, विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्काउने झाँकी र राष्ट्रिय झण्डासहित सहभागीहरू संसद् भवन परिसर पुगेका थिए।
महोत्सवमा नेपाली खानाका परिकार, हस्तकला तथा सांस्कृतिक सामग्रीका प्रदर्शनी कक्षसमेत राखिएका थिए। विभिन्न समुदायका सहभागीले नेपाली परिकारको स्वाद लिनुका साथै नेपालको संस्कृति, परम्परा र जीवनशैलीबारे जानकारी लिएका थिए।
गैरआवासीय नेपाली संघ तास्मानियाको आयोजनामा भएको महोत्सव नेपाली समुदायको पहिचान, एकता र सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। आयोजकका अनुसार गत वर्षको महोत्सवमा करिब १० हजार मानिस सहभागी भएका थिए।
तास्मानियामा नेपाली समुदायको बढ्दो उपस्थिति र नेपाली कला, संस्कृति तथा खानाप्रति अन्य समुदायको चासोले महोत्सवको लोकप्रियता बढ्दै गएको आयोजकको भनाइ छ। महोत्सवले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपालको पहिचान स्थापित गर्नुका साथै नयाँ पुस्तालाई भाषा, कला र संस्कृति हस्तान्तरण गर्न तथा समुदायबीच आपसी सद्भाव बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया