कास्की । धान भित्र्याउने तयारीमा रहेका पोखराका किसान बेमौसमी वर्षाका कारण समस्यामा परेका छन्। आज साँझ परेको ठूलो वर्षाले खेतमा काटेर सुकाउन राखिएको धान भिजेपछि किसान चिन्तित बनेका हुन्।
पोखरा–१३ आर्वाका श्रीराम सिग्देलका अनुसार कसेरी र सनुपदेली फाँटमा हिजो र आज काटेर राखिएको धान पानीमा डुबेको छ। उक्त क्षेत्रका करिब ७५ प्रतिशत किसानले पछिल्ला दुई दिनमा धान काटेका थिए।
“घाम लागिरहेकाले पानी पर्ला भन्ने ख्याल गर्न सकिएन। अहिले २०–२२ मुरी फल्ने धान सबै काटेर राखेका थियौँ,” उनले भने। कसेरी, सनुपदेली, ढाव र ठूम्रीबोटलगायत क्षेत्रका किसानले काटेर खेतमा राखेको धानसमेत वर्षाले भिजाएको छ।
पोखरा महानगरपालिकाको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले विभिन्न स्थानमा काटेर राखिएको धान भिजेको जानकारी आएको बताए। अगौटे धान अधिकांश किसानले थन्काइसके पनि जेठोबुढो धान भित्र्याउने समयमा वर्षा हुँदा समस्या भएको उनको भनाइ छ।
कडरियाका अनुसार भोलिदेखि घाम लागेमा ठूलो क्षति नहुन सक्छ। तर, धान लामो समयसम्म भिजिरहे हकुवा हुने सम्भावना रहन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा पोखरा विमानस्थलस्थित मौसम मापन केन्द्रमा सबैभन्दा बढी २५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अझै हल्का वर्षा भइरहेको जनाएको छ।
प्रतिक्रिया