काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाएर दुई पटक लागुऔषध भारत पुर्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थल शाखाबाट खटिएको टोलीले उनलाई गत कात्तिक २८ गते पक्राउ गरेको थियो। थाइल्यान्डबाट नेपाल आएका शङ्कास्पद यात्रुको प्रोफाइलिङ र जाँच गर्ने क्रममा उनको लगेजमा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाइएको अवस्थामा साढे पाँच किलो सेतो हेरोइन फेला परेको थियो।
ब्युरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार तिघारे यसअघि सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए। उनले पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थलमार्ग प्रयोग गरी लागुऔषध भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ।
यसपटक उनी लाओसबाट बैंकक हुँदै नेपाल आएको र लाओसबाहेक जिम्बाब्वे, सुडान, बङ्गलादेश, भियतनाम तथा कम्बोडियालगायत देशको भ्रमण गरेको पाइएको ब्युरोले जनाएको छ।
प्रहरीले उनको साथबाट साढे पाँच किलो हेरोइनसँगै एक थान राहदानी, मोबाइल फोन र मेकानिकल इन्जिनियरको प्रमाणपत्र बरामद गरेको छ। ब्युरेका अनुसार बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्छ। भारत पुगेपछि यसको अवैध बजार मूल्य अझ बढी हुने प्रहरीको अनुमान छ।
ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले तिघारेमाथि लागुऔषध कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा दोषी ठहरिएमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।
प्रतिक्रिया