ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा शनिबार ११ हजार २७२ जना भक्तजनले दर्शन गरेका छन्। प्रतिकूल मौसमका बाबजुद पूजाआराधनाका लागि उपयुक्त समय भएकाले पाथीभरामा भक्तजनको भीड बढेको हो।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङपाङका अनुसार शुक्रबार पनि तीन हजार ६२३ जना भक्तजनले मन्दिरमा पुगेर दर्शन गरेका थिए।
पाथीभरा दर्शनका लागि नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रबाट समेत दर्शनार्थीहरू आउने गरेको समितिले जनाएको छ।
पाथीभरा पुग्न यातायातका साधनमार्फत काफ्लेपाटीसम्म सहजै पुग्न सकिन्छ। त्यहाँबाट करिब पाँच किलोमिटर उकालो पदमार्ग पार गरेर मन्दिर पुग्न सकिन्छ। पैदल हिँड्न कठिनाइ हुने भक्तजनका लागि सहयोगीको समेत व्यवस्था रहेको छ।
समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा शक्तिपीठमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यही आस्थाका कारण स्वदेश तथा विदेशबाट ठूलो संख्यामा भक्तजन यहाँ पुग्ने गरेका छन्।
प्रतिक्रिया