जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आह्वान गरेका छन्। मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुखले शनिबार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ।
इच्छुक प्रदेशसभा सदस्यले आगामी मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्नुपर्नेछ।
यसअघि मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना नदेखेपछि संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुख कर्णले उनको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्री नियुक्त नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यसञ्चालनको जिम्मेवारी दिएका छन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा नयाँ सरकार गठन गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरणका लागि राजनीतिक दलहरूबीच छलफल र आन्तरिक गृहकार्य तीव्र बनेको छ।
प्रतिक्रिया