आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० कार्तिक २०८३, आईतवार ०६:४१

काठमाडौं । आस्था, निष्ठा र पवित्रताको महान् पर्व छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएर पूजा–आराधना गरिँदैछ। सूर्यदेव र छठी माताको उपासना गरी मनाइने चारदिने यो पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।

छठ पर्वको धार्मिक तथा पौराणिक महत्त्व निकै पुरानो मानिन्छ। महाभारतमा उल्लेख भएअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेका थिए। उनीहरूले आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यको उपासना गरेको धार्मिक मान्यता छ।

त्यसैगरी सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख पाइन्छ। व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ।

छठ पर्वमा सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यको प्रमुख स्रोतका रूपमा पूजा गरिन्छ। सूर्यको प्रकाशबाट वनस्पति, जीवजन्तु तथा सम्पूर्ण प्रकृतिको अस्तित्व सम्भव भएको मानिन्छ। त्यसैले सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै यस पर्वमा जलाशय तथा नदी किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ।

पौराणिक कथाअनुसार भगवान् श्रीकृष्णका पुत्र साम्ब कुष्ठरोगबाट पीडित भएपछि सूर्यदेवको आराधना गरेर रोगमुक्त भएका थिए। यही कारण छठ पर्वलाई स्वास्थ्य, सुख, समृद्धि र पारिवारिक कल्याणसँग जोडेर हेरिन्छ। व्रत बसेमा दुःख, कष्ट र दरिद्रता हट्ने तथा परिवारका सदस्य र सन्तानको सुख, शान्ति र दीर्घायु प्राप्त हुने जनविश्वास छ।

चार दिनसम्म मनाइने छठको व्रतविधि

छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ।

पहिलो दिन चतुर्थीमा व्रतालुहरूले स्नान गरी शुद्ध र सात्विक भोजन गर्ने गर्छन्। दोस्रो दिन पञ्चमीमा खरना विधि गरिन्छ। यस दिन सखर मिसाएर बनाइएको खीर छठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ।

तेस्रो दिन षष्ठीमा व्रतालुहरू दिनभरि निराहार तथा निर्जल व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयमा पुग्छन्। बाँसको टोकरीमा फलफूल, ठकुवा, भुसुवा, नरिवल, उखु तथा अन्य पूजाका सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ।

चौथो दिन सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सम्पन्न हुन्छ। यससँगै व्रतालुहरूले प्रसाद ग्रहण गरी व्रत तोड्ने परम्परा छ।

गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीका दिन रातभर जाग्राम बसेर सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुन्छ।

राजधानीमा छठको रौनक

छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी तथा पोखरी किनारमा विशेष सजावट गरिएको छ। गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पूजाको तयारी गरिएको छ।

विगतमा तराई तथा मधेशका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्व अहिले देशभर विस्तार भएको छ। धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा यसले राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ।

छठमा व्रतालुहरूले शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिन्छन्। कतिपयले कोजाग्रत पूर्णिमापछि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागेर सात्विक आहार सुरु गर्ने गर्छन्।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने यो पर्वले प्रकृति, पर्यावरण र मानव जीवनबीचको सम्बन्धलाई समेत स्मरण गराउँछ। सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नु नै छठ पर्वको मूल भावना हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor