काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी छँदै प्लेअफमा स्थान पक्का गरेको हो।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले अब अन्तिम लिग खेल विराटनगर किंग्ससँग खेल्नेछ।
लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने कठिन बनेको छ। सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछिका चारै खेलमा पराजित भएको छ। ६ खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ।
१०६ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९ रनमै तीन विकेट गुमाएको थियो। आसिफ पौडेल र कप्तान रोहित पौडेल १–१ तथा सन्दीप जोरा ४ रनमा आउट भए।
त्यसपछि डार्शी सर्ट र निरोशन डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। डिकवेलाले १३ बलमा १६ रन बनाए भने सर्टले ३४ बलमा ६ चौका र एक छक्कासहित ४६ रन जोडे। उनी अर्धशतक बनाउन चार रनले चुके।
सर्ट आउट भएपछि दिलीप नाथले अविजित २८ रन बनाएर टोलीलाई जितसम्म पुर्याए। उनले २७ बलमा चार चौका प्रहार गरे। शमिम हुसेन ५ रनमा आउट भए। दिलीपले हुसेन तलतको बलमा विजयी चौका प्रहार गरे।
कर्णालीका मार्क वाटले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा एक मेडनसहित १२ रन खर्चेर चार विकेट लिए। पवन सर्राफ र हुसेन तलतले एक–एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९ ओभर २ बलमा १०५ रनमा अलआउट भएको थियो। उसका लागि सोमपाल कामीले १८ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक २८ रन बनाए। हुसेन तलतले २४, गुल्सन झाले १३ र पवन सर्राफले १२ रन जोडे।
१५ रनमै चार विकेट गुमाएको कर्णालीलाई पवन र सोमपालले चौथो विकेटका लागि ४० रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए।
लुम्बिनीका अभिषेक गौतम, डार्शी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले दुई–दुई विकेट लिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट लिए।
प्रतिक्रिया