काठमाडौं । तमिल फिल्मका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आइपीएल टोली सनराइजर्स हैदराबादकी मालिक काव्या मारन विवाह बन्धनमा बाँधिएको खबर सार्वजनिक भएको छ। उनीहरूले ग्रिसमा परिवार र नजिकका साथीभाइको उपस्थितिमा विवाह गरेको दाबी गरिएको छ।
अनिरुद्ध दक्षिण भारतीय फिल्म उद्योगका स्थापित संगीतकार हुन्। उनको परिवारको भारतीय सिनेमा क्षेत्रसँग लामो सम्बन्ध छ। उनी सुपरस्टार रजनीकान्तका आफन्तसमेत हुन्। रजनीकान्त नातामा अनिरुद्धका फुपाजु पर्छन्।
अनिरुद्धका बुवा रवि राघवेन्द्र तमिल फिल्म तथा टेलिभिजनका अभिनेता हुन् भने उनकी आमा लक्ष्मी रविचन्दर शास्त्रीय नृत्यसँग सम्बन्धित छन्। अनिरुद्धकी फुपू लता रजनीकान्त हुन्। रजनीकान्त र लताका छोरी ऐश्वर्या र सौन्दर्या उनका कजिन हुन्। दुवै फिल्म निर्माण तथा निर्देशन क्षेत्रमा सक्रिय छन्।
काव्या मारन भारतको चर्चित व्यावसायिक घराना सन ग्रुपसँग सम्बन्धित छन्। उनी सनराइजर्स हैदराबाद क्रिकेट टोलीको व्यवस्थापनमा सक्रिय छिन्। काव्या र अनिरुद्धको सम्बन्ध रजनीकान्तकै माध्यमबाट जोडिएको दाबीसमेत गरिएको छ।
यस विवाहलाई भारतको महँगो विवाहमध्ये एकका रूपमा चर्चा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राज्यका मुख्यमन्त्रीलाई निमन्त्रणा पठाइएको दाबी गरिए पनि मोदी विवाहमा सहभागी नभएको बताइएको छ। विवाहको निमन्त्रणा कार्डको मूल्य प्रतिकार्ड करिब २० हजार भारतीय रुपैयाँ रहेको दाबीसमेत गरिएको छ।
करिब २५ हजार करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यको सन ग्रुपसँग सम्बन्धित काव्या र संगीत तथा मनोरञ्जन क्षेत्रमा स्थापित अनिरुद्धको विवाहलाई व्यापार र मनोरञ्जन क्षेत्रको चर्चित सम्बन्धका रूपमा प्रस्तुत गरिएको छ।
प्रतिक्रिया