काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार कारागारबाट रिहा भएका छन्। ज्येष्ठ नागरिकले पाउने कैद छुटको कानुनी सुविधाअनुसार उनी निर्धारित सजाय अवधि पूरा हुनुअघि नै रिहा भएका हुन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए। त्यसयता उनी अनुसन्धानका क्रममा हिरासत र मुद्दा दर्तापछि पुर्पक्षका लागि कारागारमा रहेका थिए।
काठमाडौं जिल्ला अदालतले गत असार २३ गते रायमाझीसहित १६ जनालाई दोषी ठहर गरेको थियो। असार ३० गते सजाय निर्धारण गर्दै उनलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा सजाय सुनाइएको थियो। एकभन्दा बढी कसुरमा दोषी ठहर भएकाले कानुनी व्यवस्थाअनुसार एकीकृत सजाय चार वर्ष कायम गरिएको थियो।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार कैद भोगिरहेका ज्येष्ठ नागरिकलाई उमेर र कसुरको अवस्था हेरी कैद छुट दिन सकिने व्यवस्था छ।
डिल्लीबजार कारागारका प्रशासक विक्रमप्रसाद पाण्डेका अनुसार अदालतको आदेश र ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाबमोजिम बिहीबार बिहान रायमाझीलाई रिहा गरिएको हो।
यस सुविधाका कारण उनले अदालतले तोकेको चार वर्षको कैद सजाय पूरा हुनुअघि नै कारागारमुक्त हुने अवसर पाएका हुन्।
प्रतिक्रिया