काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन पुगेका ढकालले दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन्।
भेटमा नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार र नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो।
ढकालले नेपालमा पर्याप्त जलविद्युत् र अनुकूल हावापानी रहेकाले सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि आकर्षक सम्भावना रहेको बताए। साथै केबलकार, स्की रिसोर्ट तथा पर्यटन पूर्वाधारमा पनि विदेशी लगानीको ठूलो अवसर रहेको उल्लेख गरे।
नेपाल र युएईबीच सन् २०२७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुँदैछ। यस अवसरमा विशेष समारोह आयोजना गर्ने युएईका मन्त्रीको योजनाको स्वागत गर्दै ढकालले दुई देशबीच सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय भ्रमण र आर्थिक सहकार्य बढाउनुपर्नेमा जोड दिए।
उनले विदेशी लगानीकर्ताको विश्वास बढाउन द्विपक्षीय लगानी सम्झौता (बीआईए) र दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने बताए।
त्यसैगरी, फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि युएईबाट सिधा उडान सञ्चालनका लागि पहल गर्न मन्त्रीसँग आग्रह गरे।
भैरहवामा सिधा उडान भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्न सहज हुने ढकालको भनाइ थियो। उनले सन् २०२७ को स्वर्ण जयन्तीलाई नेपाल र युएईबीच आर्थिक साझेदारी तथा साझा समृद्धिको नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।
प्रतिक्रिया