काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको छ। वर्तमान जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले आवश्यक गृहकार्य थालेको हो।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० गते समाप्त हुँदैछ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ अनुसार गाउँसभा तथा नगरसभाका सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने व्यवस्था छ। निर्वाचनको मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान छ।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनका लागि आवश्यक स्रोतसाधन, आन्तरिक परिस्थिति तथा अन्य व्यवस्थापकीय विषयमा अध्ययन भइरहेको बताएका छन्। आयोगले सरकार र राजनीतिक दलहरूसँग पनि आवश्यक छलफल गरिरहेको छ।
आगामी निर्वाचनमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित ७५३ स्थानीय तहमा मतदान हुनेछ।
आयोगले गत असोज मसान्तमा मतदाता नामावली अद्यावधिक गरिसकेको छ। मृत्यु भएका तथा नागरिकता त्यागेका व्यक्तिको नाम हटाएर मतदाता विवरण अद्यावधिक गरिएको आयोगले जनाएको छ।
विद्युतीय मतदान र विदेशमा रहेका नेपालीलाई समेट्ने तयारी
निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा पनि अध्ययन गरेको छ।
निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संयोजकत्वमा गठित कार्यदलले सरोकारवाला तथा कूटनीतिक नियोगबाट सुझाव संकलन गरी प्रतिवेदन बुझाइसकेको छ।
आयुक्त सुब्बाका अनुसार प्रविधिको प्रयोगबाट बदर मत घटाउने, निर्वाचनमा सहभागिता बढाउने, खर्च कम गर्ने र विदेशमा रहेका नेपालीलाई मतदानको अवसर उपलब्ध गराउने विषयमा अध्ययन भइरहेको छ।
संविधान र ऐनमा फरक व्यवस्था
नेपालको संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।
तर स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा भने कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने उल्लेख छ।
यसै कानुनी व्यवस्थालाई आधार बनाएर निर्वाचन आयोगले आगामी फागुनभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारी अघि बढाएको हो।
प्रतिक्रिया