मकवानपुर इभी दुर्घटनामा मृत्यु हुने १४ जनाकै पहिचान खुल्यो, ६ जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०८३, शुक्रबार ०६:५३

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेको थियो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको हो। यात्रुहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीस्थित घर फर्किँदै थिए। गाडीमा सवार सबै एउटै गाउँका छिमेकी तथा आफन्त रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल तथा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका विकेश यादव, पुनमदेवी यादव, दीक्षा यादव, दीपिका यादव, अनुकुमारी यादव, गुड्डु यादव, गायत्री देवी यादव, रामदुलार यादव, सुबोध यादव र रोहन यादव रहेका छन्।

त्यसैगरी राकेश यादव, छोटु यादव र सुदेश यादवको पनि मृत्यु भएको छ। मृतकमध्ये पुनमदेवीका छोरीहरू दीक्षा, दीपिका र अनुकुमारी रहेका छन्। गायत्री देवी गुड्डु यादवकी श्रीमती हुन्।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये मुकेश यादव, सक्षमकुमार यादव र देवेन्द्र राय उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्।

घाइते सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ भने ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रेफर गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor