महोत्तरी । तिहार सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वका कारण महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। चार दिनसम्म विधिपूर्वक मनाइने सूर्य उपासनाको यस महापर्वको तयारीमा स्थानीय बासिन्दा जुटेका छन्।
छठ पर्वको स्वागतमा मिथिलाका घरआँगनमा परम्परागत छठ गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र षष्ठीदेवीको महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।
पर्वलाई व्यवस्थित र भव्य बनाउन नदी, पोखरी तथा अन्य जलाशयका किनारमा छठघाट निर्माण र सरसफाइ भइरहेको छ। विशेषगरी युवा पुस्ता घाट सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन्। घरआँगन लिपपोत तथा रङरोगन गर्ने, सडक र सार्वजनिक स्थलमा बत्ती जडान गर्ने काम पनि भइरहेको छ।
पर्व नजिकिएसँगै स्थानीयको दैनिकी छठको तयारीमा केन्द्रित भएको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।
मिथिलाका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड बढेको छ। केराका घरी, उखु, अदुवा, बेसारका बोट, मुला, ज्यामिर र जटा नरिवललगायत सामग्रीको कारोबार बढेको छ। स्थानीय किसानले पनि छठमा चढाइने कृषि उपज बजारमा ल्याउने तयारी गरेका छन्। यस्ता सामग्रीको मुख्य कारोबार शनिबार हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए।
छठ पूजाका सामग्री राख्न प्रयोग हुने बाँसका ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि बढेको छ। त्यस्तै माटाका दियो, छ्याँची, टौला, अङ्खरा र गाग्रीलगायत भाँडाकुँडाको माग उच्च रहेको छ। चोखो र नयाँ भाँडामा पूजासामग्री राखेर अर्घ्य दिने परम्पराका कारण यस्ता सामग्रीको व्यापार बढेको हो।
घरघरमा छठको मुख्य प्रसाद ठकुवा र भुसुवा बनाउने चटारो पनि सुरु भएको छ। गृहिणीहरू चामल र गहुँको पिठो तयार पार्न व्यस्त छन्। कतिपय घरमा अझै पनि परम्परागत ढिकी र जाँतो प्रयोग गरेर पिठो तयार पार्ने चलन कायम छ।
छठमा शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने भएकाले परिवारका सदस्य मिलेर प्रसाद तयार गर्ने गरिन्छ। बाहिरी तडकभडकभन्दा आन्तरिक निष्ठा र शुद्धता महत्त्वपूर्ण रहेको भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले बताइन्।
मिथिलाञ्चलमा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ। पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको प्रतीकसमेत मानिन्छ। छठघाटमा जात, वर्ग र समुदायको विभेद नगरी सबैले एउटै स्थानमा बसेर पूजा गर्ने परम्परा छ। सामूहिक सहभागिता, सहयोग र सद्भावले समाजलाई एकताबद्ध बनाउने विश्वासका साथ मिथिलावासी छठ पर्वको तयारीमा जुटेका छन्।
प्रतिक्रिया