व्यक्तिभन्दा नीति र प्रणाली स्थापित हुनुपर्छ : रवि लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०८३, शुक्रबार ०६:०७

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले निर्वाचन क्षेत्रमा व्यक्तिभन्दा नीति, पद्धति र राज्यको प्रणाली स्थापित हुनुपर्ने बताएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफू व्यक्तिगत रूपमा केही ढिला आए पनि नीतिगत कामहरू निरन्तर भइरहेको बताए।

“जिम्मेवारी धेरै छ, तर व्यक्तिभन्दा सिस्टम (प्रणाली) स्थापित हुनुपर्छ भन्ने हाम्रो सोच हो। म व्यक्तिका रूपमा ढिला आए पनि सरकार र पार्टीका नीतिहरू देशभर पुगिरहेका छन्,” उनले भने।

चितवन भ्रमणका क्रममा लामिछानेले रास्वपाका जिल्ला, क्षेत्र तथा स्थानीय तहका पदाधिकारीहरूसँग संगठनात्मक छलफल गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, नारायणी नदी किनारको कटान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम रहेको रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालले जानकारी दिए।

सरकार र पार्टी सञ्चालनबारे बोल्दै लामिछानेले सत्ता टिकाउन वा पार्टीमा देखावटी एकता कायम राख्न कसैलाई कुर्सीमा राख्ने अभ्यास आफूहरूको नभएको स्पष्ट पारे। सरकार र पार्टीका कामकारबाहीमा स्पष्टता रहेको उल्लेख गर्दै उनले दुवैबीच अन्तरद्वन्द्व वा समन्वयको कमी नरहेको बताए। कुनै जिज्ञासा वा समस्या आए आपसी छलफलबाट समाधान गरिने उनको भनाइ थियो।

कुनै निकाय वा संस्थाबाट गल्ती भए त्यसलाई सच्याउने संवैधानिक तथा कानुनी संरचना रहेको उल्लेख गर्दै लामिछानेले प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता संस्थामाथि विश्वास गर्दै तिनलाई अझ बलियो बनाउनुपर्ने धारणा राखे। सरकारले परिपक्व ढंगले विधिको शासनअनुसार काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया

Leave a Reply

slot gacor