काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्तिमा सुधार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘शान्तिपूर्ण प्रदर्शन र मानवअधिकारको संरक्षण’ विषयक तीनदिने कार्यशालाको समापन गर्दै उनले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्त कडाइका साथ पालना गर्नुपर्ने बताए।
शान्ति सुव्यवस्था कायम गर्ने क्रममा बल प्रयोगलाई प्राथमिकता दिनुभन्दा संवाद, समन्वय र संस्थागत सुधारमा जोड दिनुपर्ने उनको भनाइ थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण प्रदर्शन व्यवस्थापन गर्दा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न तथा व्यावसायिक भूमिका प्रभावकारी बनाउन आग्रह गरे।
आयोजकका अनुसार कार्यशालाले सुरक्षा अधिकृतहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिबारे पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर प्रदान गरेको छ। बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, संवाद, परिचालन योजना र नेतृत्वको जवाफदेहिताबारे प्राप्त ज्ञानले नेपालमा संयमित र व्यावसायिक प्रहरी अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया