अडियो प्रकरणमा निष्पक्ष छानबिन गर्न गगन थापाको माग, आफू संलग्न नरहेको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०८३, शुक्रबार ०६:११

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि निष्पक्ष छानबिनका लागि आफू र पार्टी तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्। प्रहरी हिरासतमा रहेका भनिएका इनम सापकोटासँग जोडिएको अडियो र त्यसमा उठाइएका विषयसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको भनाइ छ।

अडियो कहाँ, कसले, कहिले र किन सार्वजनिक गर्‍यो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनुपर्ने बताउँदै उनले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरे। ‘दूधको दूध पानीको पानी छुटिनुपर्छ,’ उनले भने।

कांग्रेसको आधिकारिकता र आन्तरिक रूपान्तरणका लागि भएको संघर्ष वैचारिक तथा सैद्धान्तिक रहेको उल्लेख गर्दै थापाले त्यसमा कुनै आर्थिक लेनदेन नभएको स्पष्ट पारे। उक्त संघर्षमा करोडौँ रुपैयाँको लेनदेन भएको भन्ने आरोप निराधार र कपोलकल्पित रहेको उनको दाबी छ।

अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न गएको भन्ने चर्चालाई पनि उनले अस्वीकार गरे। बिचौलिया भनिएका व्यक्तिहरूसँग जोडेर आफूलाई राजनीतिक रूपमा बदनाम गर्ने प्रयास भएको उनको ठहर छ।

विगतमा आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत गलत कामको विरोध गर्दै आएको स्मरण गराउँदै थापाले आफ्नो नैतिकता र इमानदारीमा कुनै सम्झौता नभएको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दै आफू स्वच्छ राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor