काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दीपावली) शुक्रबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन प्राचीन मिथिला क्षेत्रसहित मधेसका जिल्लाहरूमा साँझ दीप प्रज्वलन गरी धनतेरस मनाइँदैछ।
धनतेरसलाई धन, समृद्धि र आरोग्यको कामना गर्ने विशेष पर्वका रूपमा लिइन्छ। हिन्दू धार्मिक मान्यताअनुसार यस दिन समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी अमृत कलशसहित प्रकट हुनुभएको विश्वास गरिन्छ। त्यसैले धनतेरसलाई धन्वन्तरी जयन्तीका रूपमा पनि मनाउने चलन छ। धन्वन्तरीलाई आयुर्वेद र स्वास्थ्यका देवताका रूपमा पूजा गरिन्छ।
यस दिन नयाँ धातुका भाँडाकुँडा, सुनचाँदीका गरगहना तथा अन्य सामग्री खरिद गर्दा घरमा सुख, शान्ति, धनधान्य र समृद्धि भित्रिने धार्मिक विश्वास छ। घर सफा गरी साँझ दीप प्रज्वलन गर्ने, लक्ष्मीको पूजा आराधना गर्ने र परिवारको सुख–समृद्धिको कामना गर्ने परम्परा पनि छ।
चन्द्रमासअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म परेको छ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्ण त्रयोदशीका दिन साँझ दीप प्रज्वलन गर्दै धातुका नयाँ भाँडाकुँडा वा गरगहना किनेर लक्ष्मीको पूजा गर्ने चलन छ। शुक्रबार सूर्योदयका बेला द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले धनतेरस मनाउन लागिएको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए।
मिथिला क्षेत्रमा चाडपर्व, तिथि, नक्षत्र तथा शुभकार्यको निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ। स्थानीय भाषामा ‘दिवाली’ भनिने यस पर्वको पहिलो दिन लक्ष्मीलाई प्रसन्न पार्ने धार्मिक विश्वासका साथ धातुका सामान, नयाँ भाँडाकुँडा, गहना, खरेटो र धनियाँ किन्ने परम्परा रहेको छ।
पञ्चाङ्गअनुसार शुक्रबार बिहान ११ः१० बजे सुरु भएको त्रयोदशी तिथि शनिबार बिहान १०ः४७ बजेसम्म रहनेछ। त्रयोदशी तिथिमा गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार मनाइनेछ।
त्यसैगरी आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ घरघरमा दीप प्रज्वलन गरी लक्ष्मीपूजा मनाइनेछ। मिथिला परम्पराअनुसार आगामी बुधबार भाइटीका अर्थात् ‘भैयादूज’ मनाएपछि यस वर्षको दीपावली पर्व सम्पन्न हुनेछ।
तिहारलाई धनसम्पत्ति प्राप्तिको पर्वका रूपमा मात्र नभई परिवार, समाज र प्रकृतिसँगको सम्बन्धलाई आत्मीय बनाउने सांस्कृतिक उत्सवका रूपमा पनि लिइन्छ। धनतेरसदेखि सुरु हुने दीपावलीले घरघरमा उज्यालो, आपसी सद्भाव, खुसी र समृद्धिको सन्देश फैलाउने विश्वास गरिन्छ।
प्रतिक्रिया