काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणलाई सफल बनाउन भारतीय पक्षले तयारी तीव्र पारेको जनाएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्दै भ्रमणको तयारीबारे जानकारी गराएका हुन्।
भेटका क्रममा विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट सन्देश हस्तान्तरण गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमणलाई ऐतिहासिक र सफल बनाउन भारत सरकार सक्रिय रूपमा जुटिरहेको बताए।
सो अवसरमा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले तत्काल राहत सामग्री र उद्धार टोली पठाएर गरेको सहयोगप्रति आभार व्यक्त गरे। विपद्का बेला फोनमार्फत ऐक्यबद्धता जनाएकामा भारतीय प्रधानमन्त्री मोदीलाई पनि उनले धन्यवाद दिए।
प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि भारतसँग सहकार्य गर्न चासो व्यक्त गरे।
भेटमा विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनसम्बन्धी दुई देशका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए।
उनले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म सीधा रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको र उक्त मार्गमा परीक्षण सञ्चालनसमेत भइसकेको जानकारी प्रधानमन्त्री शाहलाई दिएका थिए।
प्रतिक्रिया