षड्यन्त्र र दुष्प्रचारविरुद्ध कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने कांग्रेसको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८३, बिहीबार ०६:२७

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरुपयोगविरुद्ध कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ।

पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी ६ बुँदे धारणामार्फत सरकारले भय र भ्रम सिर्जना गरेर सत्ता सञ्चालन गर्ने प्रवृत्ति अन्त्य गर्न चेतावनी दिइएको हो।

कांग्रेसले २०८२ पुसमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिकता पुष्टि भइसकेको जनाएको छ। त्यसपछि २०८३ असोज १६ देखि २३ गतेसम्म १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेकाले पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न र दुष्प्रचारलाई अस्वीकार गरेको छ।

तथाकथित अडियो बयान र आरोपहरू निराधार, कपोलकल्पित तथा नियोजित भएको दाबी गर्दै कांग्रेसले यस प्रकरणसँग सम्बन्धित सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेको छ। आफू जुनसुकै प्रश्न र अनुसन्धानको सामना गर्न तयार रहेको पनि पार्टीले जनाएको छ।

त्यस्तै, ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीको नाम जोडिएको विषय तथा अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत नियन्त्रण र छेडखानी भएको भनिएको घटनाप्रति कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रहरी महानिरीक्षक हटाउने घटनालाई समेत यसै प्रकरणसँग जोड्दै राज्य संयन्त्र सत्ता स्वार्थका लागि प्रयोग गरिएको आरोप कांग्रेसले लगाएको छ।

कांग्रेसले विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र शक्ति पृथकीकरणजस्ता लोकतान्त्रिक मूल्यमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गएको तथा पत्रकारमाथि धरपकड र अलोकतान्त्रिक व्यवहार बढेको आरोप लगाउँदै कांग्रेसले पार्टीविरुद्धको दुष्प्रचारको प्रतिवाद गर्न कानुनी तथा संसदीय पहल गर्ने जनाएको छ। यसका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श र संसदीय दलका नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्मा सशक्त पहल गरिने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, सरकारले नागरिकको प्रश्न र प्रतिपक्षको आवाज दबाउनुको सट्टा विपद् पीडितलाई राहत, अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटजस्ता जनसरोकारका विषयमा ध्यान दिनुपर्ने कांग्रेसको भनाइ छ। पार्टीले सरकारका गलत क्रियाकलापविरुद्ध दृढ रहन सम्पूर्ण पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor