काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले बबरमहलस्थित कार्यालयबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाएको हो।
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्रामका लक्ष्मी र गणेश अङ्कित चाँदीका मेडालियन एक–एक थान गरी बढीमा दुई थान खरिद गर्न सक्नेछन्।
खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
असर्फी तथा मेडालियनको मूल्य प्रत्येक दिन बिहान करिब ११ बजे निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्र बिक्री सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
प्रतिक्रिया