वासिङ्टन डिसी । अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा रिपब्लिकनको पकड मानिएका पाँच राज्यमा डेमोक्रेटिक सिनेट उम्मेदवारहरूले अग्रता लिएको सर्वेक्षण सार्वजनिक भएको छ। न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयले गरेको सर्वेक्षणले आयोवामा भने कडा प्रतिस्पर्धा देखाएको छ।
सर्वेक्षणअनुसार टेक्सासमा डेमोक्रेटिक उम्मेदवार जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०–४३ प्रतिशतले पछाडि पारेका छन्। त्यस्तै, कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशत र मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले पछि पारेका छन्।
ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्। आयोवामा डेमोक्रेटिक उम्मेदवार जोश टुरेकले ४८ प्रतिशत र रिपब्लिकन उम्मेदवार एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाएका छन्। मिशिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल-सायेदले ५३ प्रतिशत समर्थन पाएको सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणले राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको असन्तुष्टि र बढ्दो जीवनयापन खर्चलाई चुनावका प्रमुख मुद्दाका रूपमा देखाएको छ। सर्वेक्षण गरिएका सात राज्यमा ट्रम्पको कार्यसम्पादनप्रति ३८ प्रतिशतले मात्र समर्थन जनाएका छन्। जीवनयापन खर्चको मुद्दामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकन उम्मेदवारभन्दा नौ प्रतिशत अंक बढी समर्थन पाएका छन्।
सिनेटमा बहुमत प्राप्त गर्न डेमोक्रेटिक पार्टीले रिपब्लिकनका कम्तीमा चार सिट जित्नुपर्नेछ। नोभेम्बर ३ मा हुने चुनावमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ। सर्वेक्षणले विभिन्न राज्यमा प्रतिस्पर्धाको अवस्था देखाए पनि अन्तिम नतिजा मतदाताको निर्णयमा निर्भर रहनेछ।
प्रतिक्रिया