काठमाडौं । व्यवसायी दीपक भट्टलाई थुनामा राखिएको विषयमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनीविरुद्ध विभिन्न अदालतमा विचाराधीन मुद्दाका कागजात झिकाउन आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालत र उच्च अदालत पाटनमा रहेका भट्टसम्बन्धी मुद्दाका मिसिल उपलब्ध गराउन आदेश दिएको हो।
इजलासले विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको प्रमाण मिसिल तथा उच्च अदालत पाटनमा रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिसिल झिकाउन भनेको छ। ती कागजात सम्बन्धित मुद्दाको पेसीका दिन सर्वोच्च अदालतमा पेस गरी सोही दिन फिर्ता लैजाने व्यवस्था मिलाउन पनि आदेशमा भनिएको छ।
भट्टका बुबा चतुर्भुज भट्टले छोरालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै गत असोज ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। त्यसको भोलिपल्ट न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो।
भट्टमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्रसम्बन्धी कसुर र विदेशी विनिमय ऐनसँग सम्बन्धित अभियोग छन्। केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि छुट्टाछुट्टै अनुसन्धान गरी मुद्दा अघि बढाएका छन्।
उनीसँग सम्बन्धित मुद्दा विशेष अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंमा विभिन्न चरणमा विचाराधीन छन्। हाल सिन्धुपाल्चोक कारागारमा रहेका भट्टलाई यसअघि नख्खु कारागारबाट स्थानान्तरण गरिएको थियो।
सर्वोच्च अदालतको पछिल्लो आदेशले भट्टलाई थुनामा राखिएको कानुनी आधार र सम्बन्धित न्यायिक प्रक्रियाको परीक्षणका लागि कागजात मगाउने बाटो खोलेको छ। तर, यस आदेशबाट उनको थुनाबारे अन्तिम निर्णय भने भइसकेको छैन।
प्रतिक्रिया